मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार o९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च अदालतले रवि र छविको मुद्दा एक साथ हेर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार o९:o५:oo

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणसँगको मुद्दामा तुलसीपुर उच्च अदालत बुटवल इजलासले रवि लामिछाने र छविलाल जोशी बन्जाडेको मुद्दा एकसाथ हेर्ने भएको छ । बिहीबार उच्च अदालतको एक नम्बर इजलासले मुद्दा सँगै राख्न आदेश दिएको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले एक नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टको संयुक्त इजलासले त्यस्तो आदेश दिएको बताए।

यस अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत सोमबार  तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका थिए। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति  लामिछाने रुपन्देही जिल्ला अदालतले मागेको धरौटी खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा उनीसँग एक करोड धरौटी मागेको थियो ।

सोमबार सो धरौटी खारेज गर्न माग गर्दै उनी उच्च अदालत पुगेका थिए । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी कुँवरका अनुसार धरौटी रकम परिवर्तन गरी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गरिपाऊँ भनी निवेदन पेस भएको थियो । यहाँ सरकारी वकिलले फागुन १ मा लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो ।

लामिछानेलाई धरौटी नभई थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले निवेदन दिएको थियो । त्यस्तै, यहाँ थुनामा नराखी मुद्दा लड्नुपर्ने मागसहितको निवेदन छविको पनि रहेको छ । संयुक्त इजलासले यी सबै मुद्दा एक साथ हेर्ने आदेश गरेको छ ।