मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
रमेश सुवेदी काठमाडाैं
२o८१ चैत १ शुक्रबार o९:o६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेचीनगर गोल्डकप : मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार o९:o६:oo

उत्कृष्ट पुनरागमन गर्दै ‘ए’ डिभिजन लिग विजेता चर्च ब्बाइज युनाइटेड मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मेचीनगरस्थित काँकडभिट्टा मैदानमा बिहीबार चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबलाई ४–३ ले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । अब चर्च ब्वाइजले शनिबार उपाधिका लागि आयोजक काँकडभिट्टा फुटबल टे«निङ सेन्टरविरुद्ध प्रतिस्पर्धा गर्नेछ । मोफसलमा आयोजना भइरहेको गोल्डकपमा चर्च ब्वाइजको यो दसौँ फाइनल हो । 

यस सिजन उत्कृष्ट फर्ममा रहेको चर्च ब्वाइजले चौथो उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछ । चर्च ब्वाइज बुधबार मात्र विराट गोल्डकपको फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो । मच्छिन्द्रले चर्च ब्वाइजविरुद्ध पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरी ३–० को दरिलो अग्रता बनाएको थियो । मध्यान्तरमा चर्च ब्वाइजको प्रदर्शन फितलो रह्यो । मच्छिन्द्रका खेलाडी दोस्रो सेमिफाइनलमा ड्राइभिङ सिटमा रहेको देखाउँदै मध्यान्तरपछि डिफेन्समा कमजोर प्रदर्शन गर्‍यो । 

३–० को अग्रताले सहजै फाइनल पुग्ने आत्मविश्वास देखाएको मच्छिन्द्रविरुद्ध चर्च ब्वाइजले उत्कृष्ट पुनरागमन मात्र गरेन, आयोजक काँकडभिट्टसँगको फाइनल भेटसमेत पक्का गर्‍यो । 

दोस्रो हाफमा अबायोमीको ह्याट्रिक 
दोस्रो हाफमा अबायोमी फकुन्लेको ह्याट्रिकको सहयोगमा चर्च ब्वाइजले मच्छिन्द्रविरुद्ध जित निकालेको हो । रिचार्ड विल्सनले मच्छिन्द्रको पोस्टमा एक गोल गरे । यसअघि पहिलो हाफमा मच्छिन्द्रका लागि तीनै गोल विदेशी खेलाडीले गरे । 

युसुफ मलिकले दुई तथा आन्द्रेस नियाले एक गोल गरेका हुन् । खेलको ३०औँ मिनेटमा मलिकको गोलमा मच्छिन्द्रले १–० को अग्रता लियो । खेलको ४३औँ मिनेटमा नियाले २–० का लागि गोल गरे । उनले आदित्य शाक्यको पासलाई वान टचमै गोल गरे । खेलको ४५औँ मिनेटमा मलिकले व्यक्तिगत दोस्रो गोल गर्दा मच्छिन्द्र ३–० ले अगाडि रह्यो । उनले नियाको पासमा गोल गरेका हुन् । 

अबायोमीले गरे निर्णायक गोल
प्रतिस्पर्धाको ५९ मिनेटसम्म मच्छिन्द्र ३–० ले अगाडि थियो । खेलको ६०औँ मिनेटमा अबायोमीले चर्च ब्वाइजलाई ३–१ को स्थितिमा राखे । उनले रिचार्डको पासमा गोल गरेका हुन् । खेलको ६९औँ मिनेटमा अबायोमीले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३–२ को स्थितिमा आयो । उनले विल्सनको पासमा डिबक्सबाट गोल गरे । विल्सनले ७८औँ मिनेटमा चर्च ब्वाइजका लागि ३–३ को बराबरी गोल फर्काए । अबायोमीले डिबक्समा प्रहार गरेको बल मच्छिन्द्रका डिफेन्डरले राम्रो क्लियर गर्न सकेनन् । यसैको फाइदामा रिचार्डले गोल गरी टोलीलाई बराबरीमा पुर्‍याए । खेलको ८५औँ मिनेटमा अबायोमीले ह्याटिक गर्दा चर्च ब्वाइज ४–३ ले विजयी भयो । उनले चन्दन दासको पासमा गोल गरेका हुन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् ।