
चैत्र १ गते भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राजागंज’ को हिजो बुधबार काठमाडौंमा भव्य प्रिमियर सोको आयोजना गरिएको थियो। प्रिमियर सोमा सिनेमा हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेन र सिनेमाको निर्माण टिम तथा कलाकार अनि पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
सिनेमा हेरेर निस्कँदै गर्दा प्रिमियर सोमा उपस्थित पाहुनाहरूले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए। यो सिनेमाले मधेश आन्दोलनको क्रममा उत्पन्न मधेशी र पहाडी समुदायबिच घटित विभिन्न घटना क्रमलाई सूक्ष्म ढंगले देखाइएको प्रतिक्रिया मिलेको थियो। विश्वका प्रसिद्ध सिनेमा महोत्सवमा रिलिज भैसकेको सिनेमाले नेपाली दर्शकमाझ आउनुपूर्व मिलेको प्रतिक्रियाले व्यापारमा समेत फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागंज’ मधेश आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफू त्यसको प्रत्यक्ष साँची भएको नाताले यो सिनेमा धेरै वस्तुवादी तथ्यपरक भएको बताए। ‘मलाई दुःख के लाग्यो भने जुन सिनेमामा आज हामीले हेर्न पायौँ पूर्ण रूपमा त्यसका केही महत्त्वपूर्ण अंशहरू काटिएको छ भन्ने सुनेँ। मैले बुझेअनुसार अब कति काटिएको हो, तर त्यो मुख्य अंश काटिएको हो भने त्यो त सिनेमाको टाउकै काटिएजस्तो हुन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने।
यता महिला नेतृ हिसिला यमीले ‘राजागंज’ उत्कृष्ट बनेको प्रतिक्रिया दिइन्। ‘यो सिनेमामा जो मुख्य पात्र दयाहाङ राईको रूपमा एउटा जनजातिको मान्छे नगएको भए, त्यो सिनेमामा फेरि एउटा आर्य कास्टको पात्र पनि छ। ती सबै समग्र पात्रले एउटा सेन्सेटिभ विषय, एउटा उत्पीडन, एउटा आमाको बच्चा पाउने अधिकारमाथि जुन एउटा कुठाराघात भयो, अनि एउटा जन्मिन लागेको बच्चा नजन्मिँदै उसको कर्डलाई काट्यो भने के हुन्छ? त्यस्तै, तपाईंहरूको सिनेमालाई पनि कसैले सेन्सर गर्यो भने त्यो बच्चा जन्मिँदैन। त्यसको भाव सबै मर्छ भन्ने मेरो भाव हो। त्यसैले, राजागंजजस्तो सिनेमाको कुनै पनि दृश्य नकाटी रिलिज गरिनुपर्छ, नेतृ यमीले भनिन्।
यस्तै, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेकाले सम्पूर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई ‘राजागंज’ हर्ने सिफारिस गरे । अनि अभिनेत्री लुनिभा तुलाधरले हिरो पुरुष मात्रै हुँदैन। त्यसको उमेर रङले केही पनि फरक पार्दैन। त्यस्तै, एउटा सुन्दर सिनेमा राजागंज हल गएर निर्धक्क हेर्न आग्रह गरिन्। अभिनेता नाजिर हुनेनले पनि मधेश आन्दोलनको कथा उत्कृष्ट रहेको भन्दै जति मधेशी र पहाडीबिच विभेद छ। त्यति नै मेधेशी मेधेशीबिच पनि विभेद रहेकाले त्यस्ता कुरालाई अन्त्य गर्न आवश्यक रहेको बताए। यो सिनेमाले यस्ता कुरालाई सुन्दर ढंगले प्रस्तुत गरेकाले पनि राजागंज हेर्नै पर्ने सिनेमा रहेको उनको भनाइ छ।
सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले सिनेमाका विभिन्ने लेयर हेर्न पाउने बताए। आज जतिजनाले पनि हेर्नुभएको छ, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। भोलि शुक्रबारबाट रिलिज हुँदै छ। आशा गरौँ, दर्शकलाई पनि मन पर्नेछ। सिनेमाकी मुख्य अभिनेत्री आशा मगरातीले आफूले प्रिमियर सोमा सिनेमा भन्दा पनि अडियन्सको रियाक्सन हेरिरहेकी थिएँ। दर्शक कुनै-कुनै मौकामा हाँस्नुहुन्छ। त्यो देख्दा निकै खुसी लाग्ने बताइन्।
निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलामा केही दुःख लागे पनि अहिले प्रिमियर सोमा मिलेको प्रतिक्रियाले खुसी मिलेको बताए। आफूले देखाउन खोजेको सबै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउने हुँदा केही दुःख त अवश्य लाग्छ। तर, हामीले जेजति देखाएका छौँ, दर्शकलाई मन पर्छ होला भन्ने अपेक्षा छ।