
सानदार कमब्याक जित निकाल्दै चर्च ब्बाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार मेचीनगरस्थित काँकरभिट्टा मैदानमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबविरुद्ध ४–३ को उत्कृष्ट पुनरागमन गर्यो। पहिलो हाफमा मच्छिन्द्रले ३–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा अबायोमी फकुन्लेले ह्याट्रिक गर्दा चर्च ब्वाइजले चार गोल फर्कायो।
अब फाइनलमा चर्च ब्याइजले आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ। फाइनल शनिबार हुनेछ। फाइनलको टिकट मूल्य १०० रुपैयाँ रहेको छ।
चर्च ब्वाइजलाई जित दिलाउन फकुन्लेले एक गोल गर्दा रिचार्ड विल्सनको नाममा एक गोल रह्यो। मच्छिन्द्रका लागि तीनै गोल विदेशी खेलाडीले गरे। युसुफ मलिकले दुई तथा आन्द्रेस नियाले एक गोल गरेका हुन्। खेलको ३०औँ मिनेटमा मलिकको गोलमार्फत मच्छिन्द्रले अग्रता लिएको थियो। ४३औँ मिनेटमा नियाले टोलीको अग्रता दोब्बर बनाए। उनले आदित्य शाक्यको पासलाई वान टचमै जाली चुमाए।
त्यसको दुई मिनेटपछि नै मलिकले व्यक्तिगत दोस्रो गोल गर्दा मच्छिन्द्रको अग्रता ३–० मा पुगेको थियो। उनले नियाले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै गोल गरेका हुन्।
फकुन्लेलले ६०औँ मिनेटमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएका थिए। उनले रिचार्ड विल्सनको पासलाई सदुपयोग गरेका थिए। आठ मिनेटपछि नै फकुन्लेले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३–२ को स्थितिमा आयो। उनले विल्सनले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए।
विल्सनले ७८औँ मिनेटमा चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए। फकुन्लेको क्रसलाई मच्छिन्द्रका रक्षकले राम्रो क्लियर गर्न नसक्दा प्राप्त गरेको बललाई अगाडि बढाउँदै रिचार्डले जाली चुमाएका हुन्।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा फकुन्लेले ह्याटिक पूरा गर्दै चर्च ब्वाइजलाई ४–३ को जित दिलाए। उनले चन्दन दासको थ्रु पासलाई सदुपयोग गरेका हुन्।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।