
खराब मौसमका कारण बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण प्रभावित भएको छ । कम भिजिबिलिटी र हावा तीव्र गतिमा चल्दा जहाज आकाशमा होल्ड हुनेदेखि ओभरसुटसम्म गर्नुपरेको छ । मलेसियाबाट आएको बाटिक एयर आकाशमा ६ राउन्ड घुमेर अवतरण गर्न खोज्दा मिस एप्रोच (अवतरण गर्न नसकेपछि) हुँदा ढाका डाइभर्ट गर्नुपरेको थियो । त्यस्तै, कतार एयर पनि ओभरसुट गरेर आठ–नौ फन्को मारी साझ ६:१० मा त्रिभुवन विमानस्थलमै अवतरण गरेको थियो । यो जहाज काठमाडौंमा ४: ४५ बजे अवतरण गर्ने तालिका थियो । मौसम प्रतिकूल हुनाले दिनभरि आन्तरिक र अन्तर्राष्ट्रिय उडान होल्ड भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
बुधबार बिहान त्रिभुवन विमानस्थल खुल्दा १६ सय मिटर हाराहारी भिजिबिलिटी थियो । दिउँसो केही समय भिजिबिलिटी बढेर पाँच हजार मिटर पुगे पनि अधिकांश समय त्योभन्दा कम नै रह्यो । तीन वजेपछि कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयानहरू आकाशमा एक घण्टाभन्दा बढी समयसम्म होल्ड गर्नुपरेको थियो । दिनभरी उडान–अवतरण अस्तव्यस्त हुँदा साँझ ट्राफिक कन्जेसन बढेर जहाज धेरै होल्ड भएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए । ‘तीन बजेपछि एकैपटक फ्लाइट थुप्रिँदै गए, हावाको चापका कारण बाटिक र कतार एयरवेजको जहाज मिस एप्रोच भयो’ उनले भने, ‘बुधबार हावाका कारण पनि जहाज सहज रूपमा ल्यान्ड हुन सकेनन् ।’
त्रिभुवन विमानस्थलमा पाँच हजार मिटरभन्दा धेरै भिजिबिलिटी हुँदा भिएफआर र त्योभन्दा कम हुँदा आइएफआर फ्लाइट हुने गर्छ । भिएफआरभन्दा आइएफआर प्रणालीमा जहाज अवतरण गर्न बढी समय लाग्छ । ‘आइएफआर प्रणालीमा एउटै लाइन (बाटो) हुन्छ, अन्तरिक र अन्तर्राष्ट्रिय सबै जहाज त्यही लाइनबाट अवतरण गर्नुपर्ने हुन्छ, एउटै लाइन भएपछि सेप्रेसन पनि मेन्टेन गर्नुपर्छ,’ महाप्रबन्धक निरौलाले भने ‘एकातिर डिले भइरहेका उडान अवतरण खप्टिँदै गए, अर्कोतिर आइएफआर प्रणालीमार्फत एउटै बाटोबाट जहाज अवतरण गराउनुपर्दा जहाजको चाप बढ्यो ।’ आन्तरिक फ्लाइट भने होल्ड गर्नुपरे पनि डाइभर्ट गर्नुपरेन ।
दुबईबाट आएको फ्लाई दुबईको जहाज आकाशमा सात फन्का मारेर ५:३४ बजे अवतरण गरेको थियो । कोरियाबाट आएको कोरियन एयरको विमान सात फन्को मारेर ६:१८ बजे अवतरण गरेको थियो । यो जहाज ५:३० बजे अवतरण गर्ने समय थियो । ढाकाबाट आएको बिमान बंगलादेश ६ बजे ल्यान्ड गर्नुपर्नेमा पाँच फन्को मोर ६ः२४ मा अवतरण गरेको थियो । दुबईबाट आएको फ्लाई दुबईको अर्को जहाज ६ः२० मा अवतरण गर्नुपर्नेमा आकाशमा सात फन्को मारेर ६:४८ बजे अवतरण गर्यो भने मुम्बईबाट आएको नेपाल वायुसेवा निगमको जहाज पनि केही समय आकाशमै होल्ड गरिएको थियो । बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले मौसम खराब भएर दिनभरी नै उडान भद्रगोल भएको बताए । श्री एयरका प्रवक्ता अनिल मानन्धरले पनि बुधबार अधिकांश उडानहरू डिले भएको बताए ।