
सरकारका गलत काम र नीतिविरुद्ध सदनमा आवाज उठाइरहेका विपक्षी दल सडक संघर्षमा जाने भएका छन् । उनीहरूले व्यवस्थाविरोधी प्रतिगामी चलखेल बढेको, राष्ट्रियता कमजोर भएको, विकृति, विसंगति र भ्रष्टाचार बढेको, महँगी अकासिएको जस्ता मुद्दा लिएर सडकमा जाने निर्णय गरेका हुन् । प्रमुख प्रतिपक्षी दल माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले २४ चैतमा काठमाडौंमा जनप्रदर्शन तय गरेको छ ।
दलहरूले पार्टीगत रूपमा पनि संघर्षमा जाने निर्णय गरेका छन् । मोर्चाले सरकार स्वेच्छाचारी रूपमा अघि बढेर जनविरोधी काम गरेको निष्कर्षसहित सडक आन्दोलनको घोषणा गरेको छ । ९ चैतमा मधेश प्रदेशमा खबरदारी सभा गर्ने मोर्चाको तयारी छ । काठमाडौंमा जनप्रदर्शन गर्नुअघि अन्य ६ प्रदेशमा पनि विरोध कार्यक्रम गर्ने जनाएको छ, तर मिति तय भइसकेको छैन । ‘प्रतिगामी सलबलाए । राष्ट्रियता कमजोर भयो । महँगी र भ्रष्टाचार बढ्यो । जनताले सरकार भएको महसुस नै गर्न पाएनन् । त्यसको विरुद्धमा जनतामा जाँदै छौँ,’ नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले भने ।
यसै सन्दर्भमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सोमबार भएको भेटमा राजावादी गतिविधि, सरकारी कार्यशैली तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको छ । दक्षिणपन्थी शक्तिको प्रभाव बढ्दै गएको भन्दै माओवादीले आफ्नो अभियान केही समयका लागि स्थगित गरेको छ । प्रचण्ड र नेपालबिच लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पहलकदमी लिने र आवश्यक परे आन्दोलनसम्म जाने विषयमा सहमति जुटेको छ । भेटपछि प्रचण्डले सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्न नसक्दा व्यापक निराशा फैलिएको टिप्पणी गरे ।
सरकारले जनताको समस्याप्रति ध्यान केन्द्रित गर्न नसकेको र त्यसको फाइदा प्रतिक्रियावादीले लिएको प्रचण्डले दाबी गरे । ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टे«सन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएजस्तो देखिन्छ’, उनले भने, ‘अब कसरी अगाढि बढ्ने भन्नेमा हामी सल्लाह गर्दै र्छौँ ।’
भेटपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए । ‘इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन । इतिहासले बताइसकेको छ । त्यसकारण फेरि त्यो निरंकुश शासनमा जनता जाँदैनन् । गल्ती गरेका छौँ भने हामी सच्चिनुपर्यो,’ उनले भने ।
माओवादीले गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय लिए पनि मिति भने तय हुन बाँकी छ । सरकारको नालायकीले प्रतिगामी शक्ति आशावादी देखिए पनि देशमा प्रतिगमन सम्भव नभएको माओवादी निष्कर्ष छ । ‘काठमाडौंमा प्रदर्शन गर्ने निर्णय भएको छ,’ माओवादी सचिव देवेन्द्र पौडेलले भने ।पार्टी बैठकमा प्रचण्डले वामपन्थी र गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिएर व्यवस्थाविरोधी गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । ‘माओवादीकै अगुवाइमा यो व्यवस्था आएको हो । यसको रक्षा गर्ने दायित्व पनि माओवादीकै हो । सरकारको नालायकीका कारण प्रतिगामीहरू सलबलाएका छन् । यस्तो वेला हामी चुप लागेर बस्नुहुँदैन । प्रतिगामी गतिविधिको प्रतिवाद गर्नुपर्छ’, बैठकमा प्रचण्डको भनाइ थियो । राजावादीको प्रदर्शनमा भारतको उत्तरप्रदेशको मुख्यमन्त्रीको तस्बिर प्रयोग गरिनु चिन्ताको विषय भएको प्रचण्डले बताएका थिए । ‘प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर पनि देखियो । भारतको पनि सहभागिता हो भने झन् चिन्ताजनक विषय हो । सत्यतथ्य पत्ता लगाउनुपर्छ,’ प्रचण्डले भनेका छन् । राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेकाले राजावादीको सक्रियतालाई हल्का रूपमा लिन नहुने उनले औँल्याएका छन् ।
एकीकृत समाजवादीले प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्वको सम्पूर्ण कुकर्महरूलाई नांगेझार पार्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत्, नागरिक समाज र आम जनसमुदायमा अपिल गरेको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकबाट विशेष प्रस्ताव पारित गर्दै अपिल जारी गरिएको उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने । नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरुद्ध गतिविधिहरू बढेको निष्कर्ष निकाल्दै बैठकले गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र मात्रै रहेको प्रस्ट्याएको छ ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : जसपा नेपाल
जसपा नेपालले प्रमुख दलको गलत कार्यशैलीका कारण राजावादीहरू सलबलाएको दाबी गरेको छ । तर, उसले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने टिप्पणी गरेको छ । ‘प्रमुख तीन दल र ती दलका शीर्ष नेताका कारण राजावादी सलबलाएका हुन् । गणतन्त्रकै कारण राजावादीहरूले पनि बोल्न पाएका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई नेता बन्ने मन छ भने पार्टी खोलेर चुनावमा आए हुन्छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । संघीयताको पनि अर्को विकल्प छैन । आवश्यक परे आन्दोलनका लागि हामी तयार छौँ,’ जसपा नेपालका प्रवक्ता मनीष सुमनले भने । स्थिरता र सुशासन कायम गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनताबाट निर्वाचित समानुपातिक, समावेशी संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग जसपा नेपालको छ ।
प्रचण्ड, अध्यक्ष, माओवादी
जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टे«सन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएजस्तो देखिन्छ । अब कसरी अगाडि बढ्ने भन्नेमा हामी सल्लाह गर्दै र्छौँ ।
संसद्मा प्रचण्डको सम्बोधन आज
माओवादी अध्यक्ष प्रचण्डले मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुख देवराज घिमिरेले सोमबार बोलाएको प्रमुख सचेतकहरूको बैठकले प्रचण्डको सम्बोधन निर्धारण गरेको हो । ‘पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि (मंगलबार) संसद्मा बोल्नका लागि समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ,’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने । प्रचण्डले राजावादीको सक्रियता, सरकारको कामकारबाहीदेखि तराई मधेश जागरण अभियानमा जनताले उठाएका विषयसमेत सदनमा उठाउने तयारी गरेका छन् ।
माधवकुमार नेपाल, अध्यक्ष, एकीकृत समाजवादी
इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन । इतिहासले बताइसकेको छ । त्यसकारण फेरि त्यो निरंकुश शासनमा जनता जाँदैनन् । गल्ती गरेका छौँ भने हामी सच्चिनुपर्यो ।
राजावादी पनि आन्दोलनको तयारीमा
पोखराबाट काठमाडौं आउँदा पूर्वराजाको स्वागतमा समर्थकहरूको उपस्थितिले हौसिएका राजावादी दल तथा समूहले आन्दोलनको तयारी गरेका छन् । होलीलगत्तै उनीहरूले मोचाबन्दी र अलग–अलग कार्यक्रमका विकल्पसहित आन्दोलनमा जाने तयारी थाल्ने भएका हुन् । राजावादी विचार समूहको सबैभन्दा ठुलो दल राप्रपाले आइतबार पूर्वराजा शाहको उपस्थितिमा भएको प्रदर्शनको समीक्षा गर्न र आन्दोलनको भावी रणनीति तय गर्न ३ चैतका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइसकेको छ ।
फागु पूर्णिमालगत्तै राप्रपाले रणनीति बनाउने, साझा मोर्चाका लागि राप्रपा नेपालको जोड
‘आइतबारको उपस्थिति वास्तवमा जनसागर थियो र त्यसले स्पष्ट संकेत गरेको छ कि देश यही अवस्थामा रहन सक्दैन । हामी समान विचारका दल, नागरिक समाज सबैको साथ लिएर आन्दोलन अघि बढाउनेछौँ,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने । राप्रपाले आफ्नो एजेन्डाका लागि वातावरण थप सहज भएको र सत्ता तथा प्रतिपक्षी दलहरूले सोच्नुपर्ने परिस्थिति बन्दै गरेको निष्कर्ष निकालेको छ । पूर्वराजा शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको तथा आमनागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको राप्रपाको दाबी छ ।
राप्रपा नेपाल पनि आइतबारको प्रदर्शनबाट हौसिएको छ । राप्रपा नेपालले प्रजातन्त्र दिवसमा पूर्वराजा शाहले गरेको सम्बोधनलाई जनताले आत्मसात गरेको दाबी गरेको छ । आइतबारको प्रदर्शनलाई ‘ऐतिहासिक जनप्रदर्शन’भनेको राप्रपा नेपालले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना हुने संकेत देखिएको पनि तर्क गरेको छ । ‘आइतबार जनप्रदर्शनको राप र ताप जुन स्केलमा आएको छ, यसलाई निरन्तर अघि बढाउनुपर्छ । तर, अन्योलमा अघि जान नसकिने भएको हुनाले म विचारधारा मिल्ने सबैसँग समन्वय गरेर अघि बढ्नेछु,’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार पदाधिकारी बैठकमा भने ।
राप्रपा नेपालले जनताको आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको जनाएको छ । ‘सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नुहुँदैन भन्नेमा हामीले पुनःजोड दिएका छौँ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्तशक्तिहरू यथासम्भव चाँडो एकताबद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपालले आह्वान गरेको छ ।
राप्रपा नेपालले ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्नसमेत सम्बद्ध सबैमा आह्वान गरेको छ । ‘अब केही समयका लागि एक्लाएक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । विचारधारा मिल्ने सबै दल, समूह र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्छ, त्यसका लागि प्रयास र समन्वय पनि हामीले नै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ,’ बर्तौलाले भने ।