मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार o९:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजा र जनताको साझेदारी विना देश बचाउन कठिन : कमल थापा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार o९:५६:oo

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजा र जनताको साझेदारी विना देश बचाउन कठिन हुने दावी गरेका छन् । देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको उनको भनाइ छ । शुक्रबार हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एटटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गर्ने गरेको बताए ।‘विदेशीहरूको ठुलो चलखेलले अहिले देशमा आर्थिक संकट उत्पन्न भएको छ,’ उनले भने, ‘यस्तो हुँदा समेत दलहरू विभाजित भएर एक–अर्कालाई आरोप प्रत्यारोप लगाएर बसेका छन् । यो स्वभाबिक होइन् ।’

उनले अहिलेको अवस्थामा कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको मेलमिलाप नीति जरुरी भएको औल्याए । वीपीको मेलमिलापको निति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको उनको दाबी छ ।‘देश बचाउन राजा र जनताको साझेदारी आवश्यक छ,’ उनले भने, ‘अहिलेको अवस्थामा वीपी कोइरालाको मेलमिलाप नीति अपरिहार्य देखिन्छ । वीपीको मेलमिलापको निति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको छ ।’

अध्यक्ष थापाले प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज ज्ञानेन्द्रले दिएको सकारात्मक सन्देशलाई केही नेताहरूले कटाक्ष गरेको भन्दै संविधानले दिएको बिचार र स्वतन्त्रताको अधिकारमाथी अतिक्रमण गर्न खोज्नु गलत भएको टिप्पणी गरे । 

अहिले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लाखौँ जनताहरू लागिसकेको भन्दै उनले  राजाको मन्तव्य कसैको विरुद्ध नभएको दाबी पनि गरे ।  राजालाई दोष देखाएर आफ्ना गल्तीहरू ढाकछोप गर्न खोज्नेहरूलाई अब जनताले नछाड्ने भन्दै उनले लोकतन्त्रको नाममा लुटतन्त्र गर्न कसैलाई छुट नभएको बताए ।

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापना हुने समय आइसकेको दाबी गरे । विदेशी शक्तिहरूको प्रभाव देशमा परेकाले आफूहरू विस्थापित हुनुपरेको उल्लेख गर्दै उनले अब राप्रपाको एकता आवश्यक रहेकोमा जोड दिए ।