मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण ७ बुधबार o७:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘बी’ डिभिजनका १० क्लबका माग, ‘५० दिनभित्रै लिग सकाऊ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार o७:३६:oo
  • तीन दिनभित्र आफ्नो माग सम्बोधन नभए लिग खेल्न बाध्य नहुने र त्यसको सबै जिम्मेवारी एन्फाले लिनुपर्ने १० क्लबको चेतावनी 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो २५ फागुन देखि २५ जेठ ०८१ सम्म सहिद स्मारक ‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिकाअनुसार च्यासल युथ र वीरगन्ज युनाइटेडबिच उद्घाटन खेल हुनेछ । एन्फाले लिग आयोजनाको तयारी गरिरहँदा सहभागी १४ मध्ये १० क्लबले प्रतियोगिता निकै लामो अवधि भएको भन्दै ५० दिनमा सकाउनुपर्ने दबाब दिएका छन् । 

एन्फाले तीन महिनाको खेल तालिका राखेर लिग गर्दा आफूहरूलाई अन्याय गरेको १० क्लबका संयुक्त भनाइ छन् । रानीपोखरी कर्नर (आरसिटी), वीरगन्ज युनाइटेड, टुसाल युथ, श्री कुमारी, मध्यपुर युथ एसोसिएसन, सरस्वती युवा, ब्रिगेड ब्वाइज, नयाँबस्ती युवा, च्यासल युथ र ब्वाइज युनियनले मंगलबार एन्फाको खेल तालिका मान्न तयार नभएको जनाएका छन् । तर, प्लानिङ ब्वाइज युनाइटेड, श्री भगवती, झापा फुटबल र बाँसबारी क्लबले एन्फाको खेल तालिका सम्बन्धमा केही प्रतिक्रिया जनाएका छैनन् ।

उनीहरूले यसअघि भएका सहमति कार्यान्वयन हुनपर्ने र नियमावली संशोधन गर्नुपर्ने मागसहित एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र बुझाएका छन् । ‘बी’ डिभिजन लिग खेल तालिका र दिन छोट्याउन हामी १० क्लबले ज्ञापनपत्र दियौँ, खेल तालिका तीन महिना छ, अघिल्लापटकको भन्दा दोब्बर हो, यसले एकातिर क्लबको खर्च पनि एकतिहाइ बढ्नेछ,’ ज्ञापनपत्र बुझाउन पुगेका एक सदस्यले नयाँ पत्रिकालाई भने, ‘हामीले आबद्ध गरेका खेलाडीको पढाइ र उनीहरूको परीक्षासमेत ध्यानमा राख्नुपर्छ, यसअघि पनि खेल तालिकाको विरोध गरेका थियौँ ।’ 

आर्थिक भार कम गर्न एन्फाले हप्तामा दुई खेलका दरले ५० दिनमा लिग सक्ने गरी पुनः खेल तालिका मिलाउनुपर्ने ती क्लबहरूले माग राखेका छन् । आफ्नो माग तीन दिनभित्र सम्बोधन नभए लिग खेल्न बाध्य नहुने र त्यसको सम्पूर्ण जिम्मेवारी एन्फाले लिनुपर्ने क्लबले चेतावनी दिएका छन् । 

तीन वर्षपछि हुँदै लिग
०७८ पछि हुन लागेकोे ‘बी’ डिभिजन लिग तीन महिना लामो हुनेछ । लिगमा १४ टोलीले एक–अर्काबिच एकपटक खेल्नेछन् । ११ चरणसम्म सातदोबाटोमा हुने लिगमा ९१ खेल हुनेछन् । अन्तिम दुई चरणको समय र खेल्ने मैदान एन्फाले सार्वजनिक गरेको छैन । 

यसैबिच, एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप दुई लाख दिने भनिएको छ । यद्यपि, एन्फाले तयारी खर्च क्लबहरूलाई उपलब्ध गराएको छैन । ‘लिगअगाडि नै तयारी खर्च पाउँदा सहज हुनेछ,’ ती पदाधिकारीले भने । दुई लाखबराबरको केल्मी ब्रान्डको सामग्रीमा छुटको व्यवस्था मिलाउनुपर्ने माग १० क्लबले राखेका छन् । पछिल्लो समय क्लब लिगमा सहभागी नहुँदा कारबाही तथा जरिवाना गरिएको थियो । तर, एन्फाबाट लिग समयमै आयोजना गर्न नसक्दा रोकिएको खण्डमा क्लबको खर्च रकम उपलब्ध गराउनुपर्ने बुँदा नियमावली संशोधन गर्नुपर्ने माग अगाडि राखेको छ ।