
लेबनानको राजधानी बेरुत नजिक संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनिफिल)का डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी/भिडले रोकी तोडफोड गरेका छन्। उपरथी ढकाल घाइते भएको र उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । ‘घटना पश्चात उहाँलाई तत्कालै उद्धार गरी युएन लेभल–३ अस्पताल बेरुत पुर्याइएको थियो । अस्पतालले हाल उहाँ खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमाण्डर, आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ‘ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ। उपरथी ढकाल बेरुत विमानस्थल जाने क्रममा सो आक्रमण भएको हो।
घटनाको सम्बन्धमा मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।
घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री नवाफ सलमान र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।