दिक्तेलबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ७ टेकसेलेस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
केपिलासगढी गाउँपालिका– ३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र मायाकी बहिनी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १२ जालपा घर भएकी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो ।
आगलागीमा परेर गम्भीर घाइते भएकी मायासहित तीनजनालाई लिएर पूर्वखोटाङ यातायातको ना.१ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७:३० मा छुटेको थियो । उक्त सुमो बिहीबार बिहान मध्यपहाडी लोकमार्ग सडकखण्डको भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सुमोचालक सुनसरी इनरुवाका २२ वर्षीय अनिल पण्डित भने फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता इन्स्पेक्टर मोहन पोखरेलले बताए ।
‘भँडारेखोलामा भएको दुर्घटनाबारे बिहीबार बिहान मात्र जानकारी प्राप्त भयो । घटनाबारे थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चालक फरार रहेको र सवार तीनैजनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन ।’
उपचारमा पठाइएको बिरामीसहित तीनजना आफन्तको एउटै दुर्घटनामा मृत्यु भएको खबर प्राप्त भएपछि गुरुङ परिवार स्तब्ध छ । दुर्घटनाको खबरपछि आफन्तहरू घटनास्थल गएका छन् ।
बास्पानीस्थित आफन्तको मृत्यु कार्य (सुध्याई)मा आउने निम्तालुलाई दिनका लागि रक्सी ठानेर तताउने क्रममा पेट्रोल परेपछि सल्किएको आगोले जलेर माया गम्भीर घाइते भएकी थिइन् । कम्मरमुनिको भाग जलेर गम्भीर घाइते बनेकी मायालाई आफन्तले बास्पानीबाट उद्धार गरी गाडीमा जिल्ला अस्पताल खोटाङ ल्याएर साँझ पाँच बजे भर्ना गरेका थिए । जलनका बिरामीका लागि जिल्ला अस्पताल खोटाङमा उपचारको व्यवस्था नभएकाले प्राथमिक उपचार गरेर काठमाडौं रेफर गरिएको अस्पताल प्रमुख डा. रूपेश संग्रौलाले बताए ।
‘उहाँ (माया गुरुङ)को कम्मरमुनिको भाग जलेर निकै ठुलो घाउ बनेको थियो । यहाँ जलनसम्बन्धी उपचार गर्ने व्यवस्था छैन,’ उनले भने, ‘प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रेफर गरेका थियौँ । बाटोमा दुःखद घटना भएछ ।’ दुर्घटनास्थल भँडारेखोला दिक्तेलबाट सवारीसाधनको यात्रामा करिब चार घण्टाको दूरीमा पर्छ ।
अछाममा मोटरसाइकलको ठक्करबाट मृत्यु
अछामको कमलबजार– १ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कमलबजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार मोटरसाइकलचालक तुर्माखाँद गाउँपालिका– ५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई पक्राउ गरिएको छ ।