एक डाँकु साधुको भेषमा रहन्थे । उनी धनीको धन–सम्पत्ति लुटेर गरिबलाई बाँड्ने गर्थे । एक दिन केही व्यापारीको समूह तिनै साधु भेषधारी डाँकुको बसोवास क्षेत्रबाट कतै जाँदै थियो । सबै व्यापारीलाई डाँकुको समूहले घेर्यो । डाँकुको आँखा छलेर एक व्यापारी पैसाको थैलो बोकेर नजिकै रहेको एक साधुको कुटीमा पुगे । त्यहाँ एक साधु धुनीअगाडि आँखा चिम्लेर माला जपिरहेका थिए । व्यापारीले त्यो थैलो साधुलाई दिए । साधुले ढुक्क हुन आश्वासन दिए ।
डाँकुहरू गइसकेपछि ती व्यापारी आफ्नो थैलो लिन पुनः कुटीमा पुगे । त्यहाँको दृश्य देखेर उनी तीनछक परे । ती ‘साधु’ त डाँकुहरूको टोलीलाई लुटको धन पो बाँडिरहेका थिए । यो सब देखिसकेपछि व्यापारी निराश भएर फर्किए । उनी चुपचाप फर्किएको देखेर ती साधुले प्रश्न गरे– किन रित्तो हात फर्किंदै छौ ? आफ्नो धन लानुपर्दैन ?
साधुले व्यापारीको थैलो जस्ताको तस्तै फिर्ता गरे । साधुलाई धन्यवाद दिँदै व्यापारी आफ्नो थैलो च्यापेर बाहिर निस्किए । व्यापारी बाहिर गइसकेपछि बाँकी डाँकुले साधु अर्थात् आफ्ना सरदारसित प्रश्न गरे । सजिलै आफ्नो हात लागेको त्यति धेरै धन किन उसलाई फिर्ता गर्नुभयो ? आखिर त्यो पनि त यसैगरी बाँड्न सकिन्थ्यो नि !
साधु अर्थात् डाँकुका सरदारले गम्भीर हुँदै भने– हेर साथीहरू ! त्यो व्यापारीले मलाई भगवान्को भक्त ठानेर विश्वाससाथ आफ्नो थैलो राख्न दिएको थियो । त्यसैले, मलाई उसलाई विश्वासघात गर्नु ठिक लागेन र थैलो फिर्ता गरिदिएँ । तिमीहरू पनि आफूमाथि विश्वास गर्ने कसैमाथि कहिल्यै विश्वासघात नगर ।