Skip This
अफसिजनमा पनि हिमाली भेगको ट्रेकिङमा बढ्दै पर्यटक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
खुम्बु क्षेत्रमा रमाउँदै पर्यटक । तस्बिर सौजन्य : एभरेस्ट भ्यु होटेल
नवीन अर्याल काठमाडाैं
२o८१ माघ १८ शुक्रबार o८:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अफसिजनमा पनि हिमाली भेगको ट्रेकिङमा बढ्दै पर्यटक

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार o८:५७:oo

हिउँ पर्दा चिसो बढेर हिमाली भेगमा जान समस्या हुने भए पनि यो वर्ष मध्य माघसम्म हिमपात नहुँदा हिमाल हेर्दै ट्रेकिङ गर्ने र साहसिक खेलमा रमाउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

हिउँ नपरेका कारण हिउँदमा पनि हिमाली भेगमा पदयात्रा गर्नेको संख्या बढेको छ । पदयात्राका लागि उत्कृष्ट गन्तव्यमा सूचीकृत अन्नपूर्ण सर्किट, खुम्बु क्षेत्रलगायतका हिमाली भेगहरूमा यतिवेला बाक्लो संख्यामा पदयात्री भेटिने गरेको ट्रेकिङ व्यवसायीले जानकारी दिएका छन् ।

यो वर्ष मंसिर र पुसमा खुम्बु पदयात्रामा जाने पर्यटक बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष मंसिरमा २६ सय ५२ पदयात्री खुम्बु पदयात्रामा गएकोमा यसपटक चार हजार तीन सय ९४ पदयात्री पुगेका छन् । स्थानीयको अवरोधले हेलिकोप्टर उडान रोकिँदा पनि पुस महिनामा १७ सय ५१ ले खुम्बुमा पदयात्रा गरेका छन् । गत वर्ष पुसमा भने १३ सय नौजनाले मात्र सो क्षेत्रमा पदयात्रा गरेको निकुञ्जले जानकारी दिएको छ ।

सगरमाथा क्षेत्रमा २१ पुसदेखि ठप्प भएको व्यावसायिक हेलिकोप्टर उडान अझै सुचारु भएको छैन । हेलिकोप्टर उडान नियमित भए पदयात्रीको संख्या झन् बढ्ने व्यवसायीको भनाइ छ । सगरमाथा क्षेत्रमा करिब एक दर्जन हेलिकोप्टर कम्पनीले सेवा दिँदै आएका छन् । 

यस वर्ष मौसमले साथ दिएकै कारण हिउँदमा पनि पदयात्रीहरू आइरहेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी विवेक बैजूले बताए । पर्यटन व्यवसायी एवं हेली एभरेस्टका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पाले पनि हिउँ नपरेकै कारण यो वर्ष पदयात्रामा जाने पर्यटक बढेको बताए । ‘हिउँद सकिनै लाग्दा पनि हिउँ परेको छैन, यसैले अफसिजनमा पनि पदयात्रामा जाने पदयात्री बढेका हुन्,’ उनले भने, ‘मौसमले साथ दिएपछि मध्य हिउँदमा पनि स्वदेशी तथा विदेशीहरू एभरेष्ट बेसक्याम्पतर्फ उक्लिरहेका छन् ।’

मंसिर र पुसमा पदयात्री बढेकै कारण चालू आवको पहिलो ६ महिना (साउन–पुस)मा सगरमाथा हेर्न जाने पर्यटक समग्रमा बढेको निकुञ्जको तथ्यांकले देखाउँछ । गत वर्ष ६ महिनामा २७ हजार नौ सय ८३ जना पर्यटक सगरमाथा हेर्न गएकोमा यस वर्ष सोही अवधिमा २९ हजार दुई सय २० जना पर्यटक पुगेका छन् । निकुञ्जका अनुसार चालू आवको साउन, असोज र कात्तिकमा खुम्बु क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा कम रहेको छ ।

हिउँ परेको भए चिसो बढेर हिमाली भेगमा जान समस्या हुन्थ्यो । तर, यस वर्ष अहिलेसम्म हिउँ नपर्दा हिमाली भेगमा अफसिजन पर्यटक बढेको हो । खुम्बु क्षेत्रमा सगरमाथा, ल्होत्से, नुप्त्सेलगायत हिमाल आरोहण वा हिमाल हेर्दै ट्रेकिङ गर्न पर्यटक पुग्ने गरेका छन् । त्यस्तै, स्काई डाइभिङ, स्नोबोटिङ, पर्वतारोहण तालिम, माउन्टेन बाइकिङ, म्याराथन दौडलगायतका साहसिक गतिविधिमा संलग्न हुनसमेत पर्यटक लालायित हुने गरेको निकुञ्जले जनाएको छ । एभरेष्ट स्काई डाइभ संसारकै उच्च भूभागमा हुने साहसिक मनोरञ्जनात्मक खेलमा सूचीकृत छ ।