जनकपुर र काठमाडौंबिच लिग चरणमा ३९–३९ स्कोरको बराबरी भएको थियो । लिगमा जनकपुर जितबाट वञ्चित भएको एक मात्र खेल यही थियो ।
फ्रेन्चाइज अवधारणामा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल)को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्सले दशरथ रंगशालास्थित कभर्डहलमा प्रतिस्पर्धा गर्दै छन् ।
जनकपुर लिगमा उत्कृष्ट लयमा छ । उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्ष स्थान हात पारेको थियो । क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको जनकपुरले अपराजित रहँदै उपाधि जित्ने लक्ष्य बनाएको छ । तर, जनकपुरलाई फाइनल त्यति सहज छैन ।
जनकपुरले आफू बराबरकै प्रतिद्वन्द्वी काठमाडौंको सबै रणनीतिमाथि जित निकाल्नुपर्छ । काठमाडौंले लिगमा तीन जित, समान एक बराबरी र हार सामना गरेको थियो । लिग चरणमा तेस्रो स्थानमा रहँदै काठमाडौंले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्सलाई हराएको थियो । त्यसपछि क्वालिफायर २ मा विराटनगरलाई पन्छाउँदै अन्तिम दुई स्थान पक्का पार्यो । भारतको प्रो कबड्डी लिग (पिकेएल) च्याम्पियन कप्तान घनश्याम रोकामगरको उत्कृष्ट प्रदर्शनमा काठमाडौं उपाधिनजिक पुगेको हो ।
घनश्यामलाई रोक्न सके जनकपुर च्याम्पियन बन्ने सम्भावना छ । अर्कोतिर, थाइल्यान्डका चाहपोन कामुनीको आक्रामण निस्तेज पार्न सके काठमाडौं च्याम्पियन बन्न सक्छ । यी दुईबिच लिग चरणमा कडा प्रतिस्पर्धा भएको थियो । दुवै टोली ३९–३९ स्कोरको बराबरी भयो । लिगमा जनकपुर जितबाट वञ्चित भएको एक मात्र खेल यही थियो ।
घनश्याममाथि विश्वास
काठमाडौंका कप्तान घनश्याम रोकामगरले भने, ‘जनकपुर राम्रो टिम हो । तर, हामी एनकेएल च्याम्पियन बन्न चाहन्छौँ ।’ हरियाणा स्टिलर्सबाट पिकेएल च्याम्पियन भएका उनी राष्ट्रिय टिमका समेत कप्तान हुन् । काठमाडौंका प्रशिक्षक सरोजकुमार सिंहले पनि मिहिनेत गर्दै आफ्नो टिम उपाधि जित्न तयार रहेको बताए । जनकपुरका प्रशिक्षक पार्वती राईले भने, ‘टिमले अहिलेसम्म राम्रो खेलिरहेको छ । अब बाँकी एक खेल पनि राम्रो खेल्दै च्याम्पियन ट्रफी उचाल्न चाहन्छौँ ।’
उनी लिगमा सहभागी ६ टोलीका प्रशिक्षकमध्ये एक्ली महिला हुन् । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कबड्डीकी मुख्य प्रशिक्षक रहेकी पार्वतीकै प्रशिक्षणमा नेपाली महिला टोलीले गत वर्ष १९औँ एसियाली खेलकुदमा कांस्यपदक जितेको थियो ।