डिफेन्डर सनिश श्रेष्ठको विजयी गोलप्रेरित मछिन्द्र फुटबल क्लब सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० ले हरायो।
९० मिनेटको निर्धारित समय सकिएपछि पाँच मिनेटको समय थप गरिएको थियो । सनिशले छैटौँ मिनेटमा गोल गरेका हुन् । भारतीय मिडफिल्डर दयानन्द सिंहको पासमा सनिशले दोस्रो बारमा सहज गोल गरेका थिए ।
यही खेलबाट स्टार स्ट्राइकर विमल घर्ती मगरले ७४औँ मिनेटमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् । एक वर्षअघि उनी अस्ट्रेलिया पुगेका थिए ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
अब, फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्नेछ । उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छन्।