मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २ बुधबार o८:४८:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

क्यालिफोर्नियाको डढेलोका लागि जलवायु परिवर्तन कति जिम्मेवार ?

जलवायु वैज्ञानिकहरूले विश्वव्यापी तापक्रम वृद्धिले डढेलोको संख्या र तीव्रता बढाउने बताइरहेका छन् 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार o८:४८:oo

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस र त्यस सहरवरपरका क्षेत्र अहिले भीषण डढेलोसँग जुधिरहेको छ । प्रकोपले कम्तीमा २४ जनाको ज्यान लिइसकेको छ भने ३८,००० एकडभन्दा बढी जमिनमा फैलिएर १०,००० भन्दा बढी भवन नष्ट गरिसकेको क्यालिफोर्नियाको ‘वन तथा अग्नि सुरक्षा विभाग’ (क्याल फायर)ले जनाएको छ । यो डढेलो राज्यको इतिहासमा सबैभन्दा विनाशकारी प्रकोप बन्ने दिशामा उन्मुख छ । 

प्रत्येक वर्ष विश्वभर डढेलोका घटना बढ्दै जाँदा जलवायु वैज्ञानिकहरू यसका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको चिन्ता व्यक्त गर्न थालेका छन् । गत मंगलबार(जनवरी ७) देखि सुरु भएको लस एन्जलस र यसवरपरका डढेलो लगभग रोक्न असम्भवजस्तो देखिएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले बुधबार सामाजिक सञ्जाल ‘एक्स’मा एक भिडियो पोस्ट गर्दे क्यालिफोर्नियामा अब डढेलो लाग्ने विशेष ‘सिजन’ अन्त्य भएर वर्षैभरि डढेलो लाग्ने अवस्था सिर्जना भएको चेतावनी दिए । एरिजोना स्टेट युनिभर्सिटीको स्कुल अफ लाइफ साइन्सेसका एमेरिटस प्रोफेसर पायन न्युसमको यस चेतावनीसँग सहमत छन् । उनले अब विश्वको धेरै ठाउँले अग्नियुगसँग बाँच्न सिक्नुपर्ने बताए । 

क्यालिफोर्नियामा चरम खडेरी
धेरै विज्ञहरूले क्यालिफोर्नियाको डढेलोमा जलवायु परिवर्तनको उच्च योगदान रहेको हुन सक्ने बताएका छन् । जलवायु परिवर्तनका कारण हरेक वर्ष इतिहासकै उच्च तापक्रमयुक्त वर्ष बन्दै गएको समयमा अरू धेरै समस्यामध्ये डढेलोको वृद्धि पनि एक हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । युरोपेली संघको ‘कोपर्निकस जलवायु परिवर्तन सेवा (सिथ्रिएस)’ले जनवरी १० मा सार्वजनिक गरेको एक रिपोर्टअनुसार सन् २०२४ मा वर्षैभरि तापक्रम पूर्वऔद्योगिकस्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी रह्यो । यसअघि कुनै महिना वा सिजनमा मात्र यस्तो हुन्थ्यो । सिथ्रिएसले जलवायु संकटले विश्वलाई आधुनिक मानव जातिले पहिले कहिल्यै अनुभव नगरेको उच्च तापक्रमतर्फ धकेलिरहेको चेतावनी दिएको छ ।

अमेरिकी वातावरण संरक्षण एजेन्सी इपिएको एक रिपोर्टअनुसार जलवायु परिवर्तनले डढेलोको तिव्रता, त्यो लाग्ने अवधि र डढेलो लाग्ने क्षेत्रमा उल्लेख्य वृद्धि गरेको छ । प्रोफेसर पाइनका अनुसार यी सबको कारण विश्वव्यापी तापक्रम वृद्धिले ‘समग्र प्रणालीलाई नै गरम बनाइदिएको छ । सुक्खा मौसम र डढेलो लाग्ने सिजन लम्ब्याउँदै छ । क्यालिफोर्नियाको डढेलोमा पहिलेदेखि विद्यमान तत्वमा तेलमा घिउको काम गरिरहेको छ ।’

जलवायु परिवर्तनले डढेलो कसरी निम्त्याउँछ ?
मंगलबारदेखि लस एन्जलसको पालिसेड्स क्षेत्रमा सुरु भएको क्यालिफोर्निया डढेलोको सही कारणहरू अझै अज्ञात छ । यसमाथि अनुसन्धान भइरहेको छ । तर, विज्ञहरूका अनुसार विविध वातावरणीय कारकको संयोजनले कुसमयमा लागेको डढेलोलाई तीव्रगतिमा फैलिने अवस्था सिर्जना गरिरहेको छ । पहिलो कुरा त क्यालिफोर्निया राज्यको दक्षिणी भेगमा महिनौँदेखि उल्लेखनीय वर्षा भएको छैन । 

अमेरिकी खडेरी निगरानीकर्ताको पछिल्लो नक्साले जनवरी ७ को दिन क्यालिफोर्नियाको केवल ३९.१ प्रतिशत भाग पूर्ण रूपमा खडेरीमुक्त देखाएको थियो । उसले राज्यको बाँकी भागलाई ‘असामान्य रूपमा सुक्खा’ भनेर उल्लेख गरेको छ । राज्यका यी क्षेत्रमा ‘मध्यमदेखि असाधारण’ खडेरीको अनुभव गरिरहेका छन् । तुलनाको लागि अघिल्लो वर्ष यस समयतिर क्यालिफोर्नियाको ९६.७ प्रतिशत भाग खडेरीमुक्त वर्गिकरणमा परेको थियो । जनवरी २, २०२४ को तथ्यांकमा राज्यको केवल ३.४ प्रतिशत भाग मात्र असामान्य रूपमा सुक्खा थियो । कुनै पनि भागले गम्भीर प्रकारको खडेरीको अनुभव गरेको थिएन । खडेरी वृद्धिमा जलवायु परिवर्तनको प्रत्यक्ष हात हुन्छ । 

अहिले क्यालिफोर्नियाकाको भित्री भागबाट तटीय क्षेत्रतर्फ बगिरहेको तातो ‘सान्ता आना’ले वनस्पतिलाई थप सुक्खा बनाउन योगदान गर्‍यो । उच्च सुक्खाले वनस्पतिलाई अत्यधिक ज्वलनशील बनाउँछ । जब वनस्पति धेरै सुख्खा हुन्छ, तब सानो झिल्कोले नै ठुलो डढेलो सुरु गर्न सक्छ । त्यो चाहे जलिरहेको चुरोटको ठुटो होस् वा नजिक चलिरहेका सवारीसाधन वा वनमाथि रहेका बिजुलीको लाइनमा समय समयमा उठ्ने झिल्का नै किन न होस् ।

परिवर्तनशील जलवायु र कमजोर सहरी योजना तथा व्यवस्थापनले विश्वभर प्राकृतिक प्रकोपलाई बढाउँदै लगेको छ । जलवायु परिवर्तनको प्रभावका कारण पछिल्लो समय चक्रवात, आँधीबेहरी र बाढीजन्य प्रकोप तीव्र र विस्तार हुँदै गएका छन् । एसियाली देशहरूले हालै वर्षहरूमा तीव्र बाढीको पनि अनुभव गरेका छन् । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले अप्रिल २०२४ मा प्रकाशित गरेको एक प्रतिवेदनले एसियामा विश्वव्यापी औसतभन्दा बढी ताप वृद्धि हुँदै गइरहेको देखाएको छ । 

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी) र उसको साझेदार संस्था वातावरणीय सञ्चार केन्द्र ‘ग्रिड–आरेन्डल’ले सन् २०२२ मा प्रकाशित गरेको प्रतिवेदनले जलवायु परिवर्तन र गलत भूउपयोगले डढेलो बढ्ने प्रक्षेपण गरेको छ । त्यस प्रतिवेदनले सन् २०३० सम्ममा विश्वव्यापी रूपमा आगजनीको घटना १४ प्रतिशतले, सन् २०५० को अन्त्यसम्ममा ३० प्रतिशत र शताब्दीको अन्त्यसम्ममा ५० प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

अल जजिराबाट