विद्यालय शिक्षाको गुणस्तर कमजोर बन्दै गएका वेला डिलासैनी गाउँपालिकाले हरेक शिक्षकलाई पाठयोजना बनाएर मात्र कक्षामा प्रवेश गर्ने तयारी थालेको छ। पालिकाभित्रका ५६ वटा विद्यालयका प्रअलगायत २४० जना शिक्षकलाई पहिलो चरणमा चारदिने तालिम दिएर पाठयोजनासहित विद्यालयमा पठाइसकेको छ। पालिकाले एनसेल फाउन्डेसनको सहयोगमा ‘ट्रेन द टिचर’ भन्ने नाराका साथ चारदिने तालिम दिइसकेपछि कार्यान्वयनको अवस्था हेर्न विज्ञहरूले कक्षा अवलोकन गर्ने काम भइरहेको पालिका अध्यक्ष सन्तोष जोशीले बताए।
‘प्रभावकारी शिक्षण र गुणस्तरीय शिक्षा’का लागि पालिकाको लामो प्रयासपछि एनसेल फाउन्डेसनसँग मिलेर १५ दिने तालिमको आयोजना गर्न सफल भएको उनले बताए। पालिकाभित्रको पाँचजना र बाहिरबाट दुईजना गरी सातजना विज्ञहरूलाई कक्षा अवलोकनमा खटाइएको जोशीले जानकारी दिए ।
शिक्षण सिकाइलाई एक्काइसौँ शताब्दीको गुणस्तरीय प्रणालीमा लैजान डिलासैनी गाउँपालिकामा नमुना प्रयास गरिरहेको एडचेन्ज नेपालका कार्यकारी निर्देशक विकेश महर्जनले बताए। ‘हामीले शिक्षकहरूलाई तालिम दिने, कक्षा सुपरिवेक्षण गर्ने र अभिभावकहरूलाई सुसूचित गर्ने किसिमले १५ दिन काम गर्दै छौँ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने र गुणस्तरीय शिक्षाका लागि काम गर्ने हाम्रो उद्देश्य हो।’ यो क्रममा ५६ विद्यालयका २४० जना शिक्षकलाई तालिम र ५ सय अभिभावकलाई प्रगतिशील शिक्षाबारे पालिकाको ३ ठाउँमा अभिमुखीकरण गर्ने महर्जनले बताए।