राष्ट्रिय एकता दिवसका अवसरमा दाङको छिल्लीकोटमा दौड प्रतियोगिता आयोजना भएको छ । नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंह दल गणको संयुक्त आयोजनामा शनिबार दौड प्रतियोगिता भएको हो ।
१२ किलोमिटर दौडमा रणसिंह दल गण दाङमा कार्यरत रामजी बस्नेत प्रथम भएका छन् । उनले ५१ मिनेट ३१ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् । यस्तै द्वितीय गुरुजजुर मावि रक्षाचौरका विशालकुमार महत भएका थिए । उनले ५३ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । यस्तै रणसिंह दल गणमा कार्यरत एकेन्द्र कार्की तृतिय भए ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगदद्वारा पुरस्कृत गरिएको थियो । सान्त्वना पुरस्कारस्वरुप खगिसरा रावललाई पाँच हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो ।
उक्त अवसरमा नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोट गढीका रुपमा रहेको बताए । उनले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् गरिनुपर्ने बताए । प्रमुख खड्काले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि शाससिक खेल जीप लाइन, होमस्टे सञ्चालनमा आएको र खानेपानी, विद्युत् र सडक पूर्वाधार निर्माणको चरणमा भएको बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यस्ता खेलले पर्यटन प्रवद्र्धनमा मद्दत गर्ने बताए । तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित प्रतियोगिताले छिल्लीकोटको इतिहासलाई परिचित गराउने बताए ।
छिल्लीकोटमा दुई सय ९३ वर्षसम्म राजा गरेको इतिहास छ । १५५० देखि छिल्ली कोटमा मेघनाथ शाहले राज्य गरेको र अन्तिम राजा वीरभद्र शाह थिए । वीरभद्रले १८४३ सालसम्म राज्य गरेको ऐतिहासिक तथ्य छन् । १९ कार्तिक १८४३ मा दामोदर पाण्डे, जगतजित पाण्डे, सर्दार प्रबल राना, सुब्बा फौदसिंह खत्रीसहितको टोलीले विनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरी नेपालमा गाभेका थिए ।