कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालले पारालिम्पिक खेलाडीका लागि आफ्नै खेल मैदानको माग गरेको छ । शारीरिक र अशक्त नागरिकको हितमा विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाराखेलकुद गर्दै आएको कमिटीले कांग्रेसका सभापति देउवालाई शनिबार भेटेर यस्तो माग गरेको हो ।
देउवा निवास बुढानीलकण्ठ पुगी कमिटीका पदाधिकारीले आफ्नै खेल मैदानको मागसहित अन्य विषय समावेश ज्ञापनपत्र बुझाएका छन् । पाँचबुँदे ज्ञापनपत्र बुझाउन राष्ट्रिय पारालिम्पिक कमिटिका अध्यक्ष राधा घलेको नेतृत्वमा पदाधिकारीको टोली देउवानिवास पुगेको थियो ।
टोलीले एउटा पारा रंगशालासहित उचित खेल मैदानको माग गर्दै देउवालाई पारा खेलकुदमार्फत नेपालीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने काम गरेको जानकारी गराएको थियो ।
कमिटीका संयोजक ओमनाथ सिवाकोटीले राष्ट्रिय पारालिम्पिक कमिटीअन्तर्गत २२ वटा विविद्य पारा खेलकुद रहेको बताए । उनले राष्ट्रिय पारालिम्पिक कमिटिसँग १० हजार पारा खेलाडी रहेका छन् ।
अहिलेसम्म ५० जनाभन्दा बढी खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागिता जनाइसकेका छन् । गएको सन् २०२४ मा नेपालले पेरिस पारालिम्पिकमा कांस्य पदक प्राप्त गरेको थियो । तेक्वान्दोमार्फत पलेशा गोवर्धनले कांस्य पदक जितेकी थिइन् ।
सो क्रममा सभापति देउवाले सबै समस्याको समाधान हुने भन्दै आवश्यक कदम चालिने बताएका थिए । टोलीले हेटौँडामा छिट्टै एउटा रंगशाला बनाईदिन विशेष माग गरेको थियो ।
भेटमा पारा सुटिङका महासचिव मुक्तिनाथ अधिकारीले ज्ञापनपत्र हस्तान्तरण गर्दै संयुक्त राष्ट्र संघको जेनेभा सन्धिको आर्टिकल २५ ले अशक्त नागरिकहरूको अधिकारलाई सम्बोधन गरेको स्मरण गराएका थिए।