जिल्लाको ढकारी गाउँपालिका– ६ स्थित प्रहरी चौकी ढुंगाचाल्नाले नयाँ भवन पाएको छ । प्रशासनिक कार्यकक्ष, हल, हिरासतसहित सुविधासम्पन्न भवनको मंगलबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दले उद्घाटन गरेपश्चात् ढुंगाचाल्ना प्रहरी चौकीले आफ्नै भवन पाएको हो । समारोहलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक चन्दले प्रहरीले प्राप्त गरेको भौतिक संरचना तथा स्रोतसाधनले सिंगाे समुदायलाई नै फाइदा हुने बताए ।
यसले सेवा छिटोछरितो हुनुका साथै अपराध रोकथाम, कुरीति अन्त्य, जनचेतना विस्तार, प्रकोप नियन्त्रण र समुदायको सुरक्षा गर्न सहज हुने बताए । उनका अनुसार यसका लागि समुदायस्तरबाट पनि सहयोगको आवश्यक हुन्छ । ‘विगतमा संरचना अभावमा पनि जोखिम मोलेर काम गरियो,’ उनले भने, ‘अब त्यो अवस्था नरहेकाले प्रहरीले उच्च मनोबलका साथ काम गर्नेमा विश्वस दिलाउँछु ।’ प्रहरीले प्राप्त गरेको नयाँ भवनसँगै सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन कार्यक्रमका विशिष्ट अतिथि ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले आग्रह गरे । उनले प्रहरीको नयाँ भवनमा फर्निचर व्यवस्थापनका लागि तत्काललाई गाउँपालिकाले तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरेका छन् ।
अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले १८ रोपनी जमिनमा निर्माण भएको यो भवनले प्रहरीलाई मात्रै सुविधा नभएर यसले शान्ति सुरक्षा मजबुत बनाउन पनि सहज हुने बताए । आफैँ असुरक्षित भएर प्रहरीले सेवा दिन नसक्ने भन्दै अब यसपछि दुर्गममा खटिने प्रहरीको मनोबलसमेत बढ्ने उनले बताए ।
सभामा तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष विमलाकुमारी शाहीले दुर्गमका प्रहरीले जनताको सेवा दिएझैँ स्थानीय तहहरूले पनि प्रहरीलाई सुरक्षित वातावरणमा काम गर्न आइपर्ने समस्याको समाधान हुने गरी सहयोग गर्ने बताइन् । जिल्लामा रहेका प्रहरीहरू अहिले पनि संरचना अभावकै कारण सुरक्षित नरहेको भन्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बाँकी रहेका ठाउँमा पनि यस्तै सुविधानसम्पन्न संरचना बनाउन आवश्यक रहेको बताए ।
उनले त्यसका लागि सबैतिरबाट पहल गरिदिन पनि आग्रह गरे । ०३९ साल पुस २९ गते ढुंगाचाल्नाका स्थानीय समाजसेवी मोतीसिंह बुढाले ढुंगाचाल्ना बजारमा रहेको आफ्नो चारकोठाको दुईतले कच्ची भवन दिएर प्रहरी चौकी स्थापना भएको थियो । उनका अनुसार ०४७ सालमा यो जग्गा नेपाल प्रहरीका नाममा दर्ता गराइएको हो । त्यसवेला स्थापना भएको ढुंगाचाल्ना प्रहरी चौकीको कच्ची भवन द्वन्द्वका वेला ध्वस्त भएको हो ।
त्यसयता साबिक गाउँ विकास समितिको भवनमार्फत सञ्चालन हुँदै आएको प्रहरी चौकी तीन करोड ५७ लाख १४ हजार ९६० रुपैयाँको लागतमा गत असार १ गते निर्माण सम्पन्न भएको थियो । प्रहरी चाैकी उद्घाटन समारोहमा पुगेका प्रहरी नायब महानिरीक्षकसहितको टोलीलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । दुर्गममा पुगेको टोलीसमक्ष उनीहरूले महिला प्रहरी आवश्यक रहेकोबारे पनि जानकारी गराएका थिए ।