नेपालमा तेस्रोपटक ‘बाइरो ब्रिड च्याम्पियनसिप डग साे’ हुने भएको छ। कुकुर नश्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले डग साे गर्न लागेको केनेल क्लब अफ नेपालका सचिव विवेश श्रेष्ठले जानकारी दिए।
प्रतियोगिता आगामी माघ ५ गते ललितपुरको जावलाखेल फुटबल ग्राउन्डमा हुनेछ। श्रेष्ठका अनुसार यसपटकको साेमा पहिलो र दोस्रो संस्करणको तुलनामा सहभागी कुकुरको संख्या बढ्ने अनुमान गरिएको छ।
अघिल्लो दुई साेमा ३५ जातका १५३ कुकुरलाई प्रतिस्पर्धा गराइएको थियो। यसपटक हस्की, जर्मन सेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेसियन, सेन्ट बनोर्ड, इंग्लिस ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियनलगायत प्रजातिका कुकुरलाई सहभागी गराइने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी गराइने कुकुरलाई अनिवार्य रूपमा भ्याक्सिन लगाइएको हुनुपर्नेछ। साथै, तीन महिनाभन्दा माथि उमेरका कुकुर मात्र साेमा सहभागी गराइने आयोजकले जनाएको छ।
सहभागी कुकुरले पहिले आफ्नो जातभित्र प्रतिस्पर्धा गर्ने र त्यसमा उत्कृष्ट ठहरिएका कुकुरले अर्को चरणमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त जजहरूको टोलीले उत्कृष्ट कुकुरको छनोट गर्ने क्लबका सचिव श्रेष्ठले जानकारी दिए।
विश्वव्यापी रूपमा कुकुर च्याम्पियनसिप साेको परम्परा सन् १७७३ बाट सुरु भएको मानिन्छ। नेपालमा यस प्रकारका साेहरूको निरन्तर आयोजना हुनु देशको कुकुर नश्ल सुधारमा मात्र नभई पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न पनि महत्त्वपूर्ण मानिएको क्लबको दाबी छ।