मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८१ पौष २३ मंगलबार १३:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १३:४३:oo

डडेलधुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलोपटक जलपन्छी गणना गरिएको छ । नेपाल पन्छी संरक्षण संघ (बिसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितका गणकहरूले डिभिजन वन कार्यालय डडेलधुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरेका हुन् ।

ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताए । उनका अनुसार तालमा मुख्यगरी ठुलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरू देखिएका छन् । तालआसपासमा चराहरूको अध्ययन बाँकी रहेको उनले बताए ।

‘पहिलोपटक ताल क्षेत्रमा जलपन्छी गणना गरेका छौँ,’ डगौराले भने, ‘रैथाने र आगन्तुक जलपन्छीबारे अध्ययन सुरु गरेका छौँ ।’ ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात् ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरू रहेको भन्नेबारे जानकारी हुने उनले उल्लेख गरे । हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ छ ।

आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार १७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ । चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन् ।

नेपाल पन्छी संरक्षण संघ (बिसिएन) का गणकहरूले कैलालीको धनगढी उपमहानगरपालिका– ७ स्थित जाखोर तालसँगै महादेवा तालमा पनि जलपन्छी गणना गरेका छन् । तालमा कैलेटाउके हाँस, मालक हाँस, सिजुरी, सुनगजुरेलगायत चराका बथान देखिएको उनको भनाइ छ ।

घोडाघोडी नकरोडताल, रखौना, सोनियाँ रुपैयाँ, घोरताल, पुरैना, जम्नेहटा, चम्रहिया, कोइलही ताल र कर्णाली जलाधार क्षेत्रमा जलपन्छी गणना गरिने बताइएको छ । अन्य तालतलैया र नदीमा जलपन्छी गणना भइरहेको छ । कञ्चनपुरको पुरैनी तालमा ५५ प्रजातिका जलपन्छी भेटिएका छन् ।

उत्तरी धुव्र रुस, चीन, मंगाेलियालगायत अत्यधिक चिसो हुने क्षेत्रहरूबाट हजारौँको संख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा यहाँका विभिन्न तालतलैया, नदी र वनजंगल क्षेत्रमा आउने गर्दछन् । रासस