ताप्लेजुङमा मुक्कुम्लुङ संयुक्त संघर्ष समितिसहित मुक्कुम्लुङ संरक्षणमा संलग्न संघसंस्थाहरूले आइतबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषण गरेका छन् । संघर्ष समितिले यातायात बन्द गरेसँगै यात्रुहरूको बिचल्ली भएको छ ।
संघर्ष समितिले एक विज्ञप्ति प्रकाशित गर्दै मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङभित्र अनिश्चित कालका लागि यातायात बन्द गर्ने घोषणा गरेको छ ।
उक्त संस्थाहरूले पुस १७ गते पाथीभरा (मुक्कुम्लुङ) संरक्षणका लागि इलाम जिल्लाबाट आएका २६ जना मानिसलाई तल्लो फेदीमा तैनाथ प्रहरीले माथि जानबाट रोकेर फिर्ता पठाएको, तीनजनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको र उनीहरूको रिहाइसहित विभिन्न माग राखेर यातायात बन्दको आह्वान गरिएको विज्ञाप्तिमा उल्लेख छ ।
सरकारको अन्याय, ज्यादती र जातीय साम्प्रदायिक कार्यको विरोध गर्न केबलकार खारेज नभएसम्म, ठुलोफेदीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने विज्ञप्तिमा जनाइएकाे छ । यसअघि उक्त संस्थाहरूले आफ्ना माग पूरा गर्न २० गते अर्थात् शनिबारसम्मको अल्टिमेटम दिएका थिए ।
तर, उक्त समयसम्ममा पनि माग पूरा नभएपछि बन्दको घोषणा गरिएको मुक्कुम्लुङ संघर्ष समितिले जनाएको छ । यातायात बन्द हुँदा ताप्लेजुङबाट जिल्लाका आठ स्थानीय तह जाने यात्रुहरू, जिल्लाबाट बहिर झापाको बिर्तामोड, इलाम, पाँचथार, सुनसरीको धरान, मोरङको विराटनग लगायतका स्थानमा जाने यात्रुहरू मारमा परेका छन् ।