चेम्बर अफ कमर्स दोलखाको अध्यक्षमा युवा व्यवसायी रुद्रजंग बुढाथोकीसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न छैटौँ साधारणसभा एवं तेस्रो जिल्ला अधिवेशनको बन्दसत्रले अध्यक्ष बुढाथोकीसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम ठकुरी, प्रथम र द्वितीय उपाध्यक्षमा क्रमश राजकुमार खड्का र लीलाबहादुर केसी चयन भएका छन् । संस्थाको महासचिवमा रामकृष्ण श्रेष्ठ, सचिव कृष्ण नेपाली, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पवित्रा केसी सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य नवराज सिवाकोटीले जानकारी दिए। उनका अनुसार सर्वसम्मत चयन भएका कार्यसमिति सदस्यहरूमा नवराज खतिवडा, कुमार कार्की, विनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिसा श्रेष्ठ छन् ।
निर्विरोध निर्वाचित कार्यसमितिलाई चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको ओरालो यात्राका वेला व्यवसायीका धितो लिलामी प्रक्रियामा जान बैंक तथा वित्तीय संस्थालाई रोक्नुपर्ने बताएका छन् । आर्थिक बोझले थलिएका व्यवसायीहरूलाई उल्टै तनाव दिन भएको धितोसमेत लिलाम गर्नु अन्यायपूर्ण भएको बताउँदै तत्काल धितो लिलाम गर्ने काम रोक्न सरकारले विधिवत प्रकृयाको थालनी गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष अग्रवालले उल्लेखित समस्या समाधान गर्न सरकारले उच्चस्तरीय व्यवस्थापन समिति गठन गरेर काम थालनी गर्नुपर्नेमा जोड दिए । उनले बैंकमा खरबौं रकम स्टक रहेपनि व्यवसायीले कर्जा लिएर लगानी गर्न आँट नै गर्न नसकेको बताएका छन् ।
दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा चेम्बर अफ कमर्शका बरिस्ठ उपाध्यक्ष दिपककुमार मलोहत्रा , पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा दोलखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुन्दर कार्की कर कार्यालय दोलखाका प्रमुख लगाएतले निजि क्षेत्रका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै केही व्यवसायी र सञ्चारकर्मीलाई सम्मानसमेत गरिएको चेम्बर अफ कमर्स दोलखाका उपाध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिए। अधिवेशनमा कोषाध्यक्ष राजकुमार खड्का र उपाध्यक्ष रुद्रजंग बुढाथोकीले आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।