मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ पौष १६ मंगलबार १५:५९:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

जलविद्युतसँगै ब्रह्मायणी करिडोरका विकट गाउँमा सडक

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार १५:५९:oo

ब्रह्मायणी करिडोरभित्र दुई स्थानीय तह छन् बलेफी र जुगल। जुगल गाउँपालिका हिमालमुनिको विकट पहाडी इलाका हो। एक वर्षअघि तेम्बाथाङ, दीपु, लिदी, गोल्चे, निम्लुङ, सन्चगाउँ, नाम्फा र गुम्बाजस्ता गाउँको जनजीवन भौगोलिक विकटताले कठिन थियो। तर, जब ब्रम्हायणी नदीमा जम्मा हुने ठुलासाना सबै खोलामा जलविद्युत् बन्न थाले तब विकट गाउँको दुःख कम हुँदै गएको छ। किनकि, जलविद्युत् कम्पनीले गाउँमा मोटरबाटो पुर्‍याउन लगानी गरेको छ। 

ब्रम्हायणी करिडोरभित्र पूर्वसभामुख अग्निप्रसाद सापकोटा र सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का सांसद माधव सापकोटाको घर रहेका छन्। भाषणबाजी गर्दा विवादमा आइरहने कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, एमाले नेताहरू अरुण नेपाल र सरेश नेपालको राजनीति गर्ने थलो पनि यही हो। यद्यपि, सरकारमा पहलकदमी नपुग्दा बलेफी– दीपु सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ। सडकको दुरावस्थाले यात्रु मारमा छन्। बलेफी-जलबिरे सडकखण्ड धेरै पुरानो ट्र्याक हो। जुन ब्रम्हायणी करिडोरको लाइफलाइन हो। 

कात्तिकेबाट कुम्भेश्वरसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य बोकेर दशकअघि जलबिरे क्षेत्र प्रवेश गरेको ग्रिन भेन्चर प्रालि भेलबाडाले अरनिको राजमार्ग छोडेर बलेफीबाट कात्तिकेसम्म २५ किलोमिटर सडक चौडा पार्‍यो। सो कम्पनीले सडक फराकिलो पार्न १५ करोड खर्च गर्‍यो। तर, जलविद्युत् उत्पादन गर्न नसकेर भेलबाडा त्यस क्षेत्रबाट रित्तो हात फर्क्यो। 
त्यसपछि दुई करोड खर्च गरेर अपरबलेफी हाइड्रोपावर कम्पनीले कात्तिकेबाट लिदीमुनिसम्म आठ किलोमिटर सडक निर्माण गर्‍यो। ३६ मेगावाटको अपरबलेफी हाइड्रोपावरले तीन वर्षदेखि विद्युत् उत्पादन गरिरहेको छ। सो कम्पनीले वार्षिक एक अर्बको हाराहारीमा आम्दानी गर्छ।

जलविद्युत् व्यवसायी उमेश कसजूले ३६ मेगावाटको सफलतापछि ४६ मेगावाटको अपरबलेफी– २ को निर्माण गरिरहेका छन्। उनै कसजूले सामाजिक उत्तरदायित्वअन्तर्गत काम गरेर विकट बस्तीमा सडकको ट्रयाक पुर्‍याएका हुन्। लिदीमुनिबाट नेसमखोलासम्म ६ करोड ५० लाख खर्च गरेर १० किलोमिटर सडक बनाएका छन् । हिमालमुनिको बिकट गाउँ लिदीसम्म चार करोड खर्च गरेर सात किलोमिटर सडक निर्माण गरेका छन् । कुम्भेश्वरबाट गोल्चेसम्म १२ किलोमिटर सडक पाँच करोड लागतमा निर्माण भएको छ । त्यसैगरी गोल्चे बगरबाट निम्लुङसम्मको ६ किलोमिटर सडक दुई करोड लगानी गरेर निर्माण भएको छ ।

गोल्चे बगरबाट नाम्फा र सञ्चगाउँमा पनि दुई करोड खर्च गरेर आठ किलोमिटर सडक तयार भएको छ । मोटरबाटो पुगेपछि लिदी, नाम्फा, सञ्चगाउँ, निम्लुङ र गोल्चेका स्थानीयको जनजीवनमा फेरबदल आएको छ । जलविद्युत कम्पनीहरुले धमाधम सडक पु¥याएकोले बिकट गाउँमा उत्पादित आलु, मुला, जडीबुटीलगायत लेकाली क्षेत्रमा उपलब्ध कृषिउपज जलवीरे बजार र काठमाडौ सहरसम्म एकै दिनमा आइपुग्छ ।

६२ मेगावाट क्षमताको ब्रम्हायणी हाइड्रोपावरले नेसमबाट दीपुसम्म पाँच करोड खर्च गरेर १० किलोमिटर नयाँ ट्रयाक निर्माण गरेको छ । मोटर देख्ने कल्पना नगरेको तेम्बाथाङका  स्थानीय गाउँघरमा साना मोटर पुगेको देखेर दंग छन् ।

ब्रम्हायणी कोरिडोरमा निर्माण सम्पन्न भएका र निर्माणाधीन एक दर्जन हाइड्रोपावर कम्पनी सबैले सामाजिक उत्तरदायित्वअन्तर्गतको काम गरे यहाँको जीवनमा धेरै फेरबदल आउने जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो बताउँछन् । स्थानीय स्रोत उपभोगबाट आउने मुआब्जा, रोजगार र पूर्वाधार विकासमा हुने सहयोगले यस क्षेत्रमा सकारात्मक प्रभाव परेको उनको भनाइँ छ । ‘हाइड्रोपावरले ट्रयाक खन्यो स्थानीय सरकार, प्रदेश सरकार र संघको समपुरक बजेटबाट गाउँका सडक राम्रो पारिएको छ,’ उनले भने । 

लामो समयदेखि विद्युतको क्षेत्रमा काम गरिरहेका जलविद्युतविज्ञ चेतनाथ नेपालले दिएको जानकारीअनुसार ब्रम्हायणी कोरिडोरको जुगल क्षेत्रमा रहेका नौ हाइड्रोपावरमध्ये चारले उत्पादन सुरु गरेका छन् । ३६ मेगावाटको अपरबलेफी, ४.२ को बराम्ची, ३.५ को गेलुङखोला र  ७.८ को याम्बुलिङ हाइड्रोपावरले विद्युत उत्पादन गरिरहेका छन् । ३५ मेगावाटको सीता, ६२ मेगावाटको ब्रम्हायणी, ४६ को अपरबलेफी, २२ को मुनलाइट र २२ मेगावाटको साझा हाइड्रोपावर निर्माणाधीन छन्। निर्माणाधीन हाइड्रोपावरमा सयौँ स्थानीय रोजगार छन्।