मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ११ बिहीबार o६:o२:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : किसानका तीन छोरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o६:o२:oo

एक गाउँमा परिश्रमी किसान बस्थे । उनी रातदिन खेतीमै व्यस्त रहन्थे । त्यसैले खेतीबाट राम्रै सम्पत्ति जोडेका पनि थिए । किसानका अत्यन्त मिहिनेती र आज्ञापालक तीन छोरा थिए । उनीहरू पितालाई खेतीको काममा सघाउँथे । 

एकपटक किसानले तीनै छोरालाई बोलाएर भने– बाबु हो ! तिमीहरूले रातदिन मिहिनेत गरेर मलाई सघाउँदै आएका छौ । हामीले खेतीपातीबाट राम्रै आर्जन पनि गरिरहेका छौँ । तैपनि, मैले तिमीहरूका लागि खासै केही गर्न सकेको छैन । त्यसैले, म तिमीहरूलाई आज एक–एक हजार रुपैयाँ दिँदै छु । यसलाई जेमा चाहन्छौ, खर्च गर्न सक्छौ । यति भनेर किसानले तीनैजना छोरालाई एक–एक हजार रुपैयाँ दिए । पैसा पाएपछि जेठा छोराले सोचे– जब बाले नै आफूखुसी खर्च गर भनेर दिइसकेपछि यसलाई खर्च नगरी किन जोगाइराख्नु ? आखिर बाले पछि फिर्ता माग्ने पनि त होइन ।

यति सोचेर उनले सबै रकम मोजमस्ती र खानपिनमा खर्च गरेर सिध्याए । माइला छोराले सोचे– बाले हामीलाई किन यसरी पैसा दिनुभएको हो, त्यसको पत्तो छैन । त्यत्तिकै त दिनुभएको होइन होला । अहिले खर्च गरियो भने पछि उहाँले केही गरी फिर्ता माग्नुभयो भने के दिनु ? त्यसैले यसलाई खर्च गर्नु मूर्खता ठहरिन सक्छ । यति सोचेर उनले सो रकम पछि पिताले हिसाब मागे बुझाउँला भनेर खुत्रुकेमा राखे । 

कान्छा छोराले सोचे– पक्कै पनि बाले यो पैसा फिर्ता माग्नुहुन्न । फिर्ता माग्ने भए आफूखुसी खर्च गर भनेर दिनुहुन्नथ्यो । त्यसैले, अब यो पैसा त्यत्तिकै खर्च गरेर उडाउनु या त्यत्तिकै जम्मा गरेर राखिराख्नुभन्दा त बरु व्यापारमा लगाउनुपर्‍यो । उनले पिताले दिएको एक हजार रुपैयाँको थैलीबाट व्यापार सुरु गरे । उनको मिहिनेत र इमानदारीले गर्दा व्यापार छिटै फैलियो । उनले पिताले दिएको धनको सदुपयोगबाट प्रशस्त धन आर्जन गरे ।