मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
लिगको लोगो र स्लोगन सार्वजनिक भएको कार्यक्रममा काभा यू–२० पुरुष भलिबलको रजत विजेता यू–२० राष्ट्रिय टोलीका सदस्य सम्मानित भएका छन् ।
२o८१ पौष १० बुधबार o८:५९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुरुष भलिबल लिगमा ६ फ्रेन्चाइज टोली

आगामी फागुनमा हुने लिगमा ‘ए’, ‘बी’ र ‘सी’ श्रेणी छुट्याएर खेलाडीको ड्राफ्ट गरिने 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार o८:५९:oo

नेपालमा पहिलोपटक पुरुष भलिबल फ्रेन्चाइज प्रतियोगिता हुने भएको छ । भलिबल खेल इतिहासमा पहिलोपटक आयोजना हुन लागेको नेपाल भलिबल पुरुष लिग (एनभिएल)को लोगो मंगलबार सार्वजनिक भएको छ । लिगको मुख्य आयोजक केडिया ग्रुपले लिगको नाम अंकित लोगो र स्लोगन सार्वजनिक गरेको हो । खेलकुद मन्त्री तेजुलाल चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले ‘उचाइको नयाँ उडान’ नामक लिगको स्लोगन सार्वजनिक गरे । लोगो सार्वजनिक भएको कार्यक्रममै प्रतियोगितामा ६ टोलीको सहभागिता रहने जानकारी नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । ‘भलिबल इतिहासमै पहिलोपटक हुन लागेको पुरुष लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्,’ चन्दले भने । उनका अनुसार लिग ९ दिनसम्म चल्नेछ । लिग चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो हुने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा १५ र फाइनल गरी कुल १६ खेल हुनेछन् । प्रत्येक टोलीमा नौ नेपाली र तीन विदेशी गरी कुल १२ खेलाडी टोलीमा समावेश गर्ने पाउनेछन् । भलिबल संघले लिगमा सहभागी खेलाडीको वर्गीकरण गर्नेछ । यसैअनुसार खेलाडीहरूले अक्सनमा आफ्नो मूल्य राख्नेछन् । पुरुष खेलाडीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको अनुसार ‘ए’, ‘बी’ र सी श्रेणी छुट्याएर ड्राफ्ट गरिने केडिया ग्रुपका कार्यकारी निर्देशक अश्विन केडियाले जानकारी दिए । 

‘संघले दिएको लिस्टअनुसारै खेलाडीहरूलाई वर्गीकरणमा राख्छौँ, त्यहीअनुसार ड्राफ्ट हुनेछ,’ केडियाले भने । भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको पहिलो संस्करण आगामी फागुनको अन्त्यमा काठमाडौंमा सञ्चालन हुनेछ । संघ र मुख्य आयोजक केडियाले प्रतियोगिताको मिति सार्वजनिक गरेका छैनन् । प्रतियोगिताको मिति र टोली चाँडै सार्वजनिक हुने चन्दले बताएका छन् ।

गत असारमा प्रतियोगिता आयोजनाका भलिबल संघ र केडिया ग्रुपबिच सम्झौता भएको थियो । भलिबल संघले वार्षिक ३५ लाख रुपैयाँमा केडिया ग्रुपलाई पुरुष भलिबलको फ्रेन्चाइज लिग बेचेको थियो । लिग आयोजनाका लागि भलिबल संघ र केडिया ग्रुपबिच सात वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुसार पुरुष फ्रेन्चाइज लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्नेछ । 

नेपाली भलिबललाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ उचाइको उडान स्लोगन राखिएको अपरेसन हेड विकास खेतानले बताए । उनले पहिलो संस्करणको लिगमा स्वदेशी र विदेशी खेलाडीको मिश्रणले उत्कृष्ट प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे । यसैबिच, श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मान गरिएको थियो ।

एनओसीलाई मन्त्री चौधरीको चेतावनी
पुरुष भलिबल फ्रेन्चाइज लिगको लोगो सार्वजनिक भएको कार्यक्रममा मन्त्री चौधरीले अदालतको आदेश नमानी निर्वाचन प्रक्रिया थालनी गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई चेनावनी दिएका छन् । मुलुकको ऐन कानुन र अदालतको आदेश नमान्नेलाई कडा कारबाही गरिने चौधरीले बताए । ‘मुलुको ऐन, कानुन र अदालतको आदेश नमान्नेलाई जोकोही संस्थालाई हामी कडा कारबाही गर्छौँ,’ उनले भने । 

विगत दुई–तीन महिनादेखि खेलकुदको माहोल बन्दै गएको अवस्थामा ओलम्पिक कमिटीले अदालतको आदेश र ऐन कानुनविपरीत कार्य गरेर खेलकुदको वातावरण दूषित पार्ने दुष्प्रयास गरेको बताए । ‘मुलुकमा ऐन, नियम, कानुन छ, मुलुकको यो कानुन सबैले कानुन मान्नुपर्छ, जुन एनओसीमाथि पनि लागू हुन्छ, तर एनओसीलाई कानुनअनुसार चल्न पत्राचार गरे पनि अटेरी गर्दै आफू खुसी चल्दै आएको छ,’ उनले भने, ‘कानुन तोडेर जथाभावी गर्न कसैलाई छुट छैन, यदि कसैले मुलुकको कानुन तोड्छ भने त्यसले कारबाहीको भागीदार बन्नुपर्ने र ठुलो दुर्घटनाको सामना गर्न तयार रहनु होला ।’ 

एनओसीले ऐनको धज्जी उडाउने कार्य गरेको आरोपसमेत मन्त्री चौधरीले लगाएका छन् । उनले यस्तो गैरकानुनी कार्य गर्नेप्रति सरकारले सहन नसक्ने र उनीहरूलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको बताए । ‘मुलुकको ऐन कानुन नमान्ने र गैरकानुनी कार्य गर्नमा उद्यत देखिएको एनओसीलाई सहयोग गर्ने राष्ट्रिय खेलकुद संघका पदाधिकारीहरूलाई पनि कारबाही गर्न हामी तयार छौँ,’ उनले भने, ‘छिट्टै राष्ट्रिय खेलकुद संघलाई पत्र आउँदै छ, त्यसको उचित जवाफ दिन नसके कानुनी कारबाहीको कठघरामा उभ्याइनेछ, त्यसका लागि तयार भएर बस्नु होला ।’ 

अन्य लिगहरू

क्रिकेट : नेपाली खेलकुदमा बिस्तारै फ्रेन्चाइज लिगको माहोल बढिरहेको छ । गत शनिबार मात्र क्रिकेटको नेपाल प्रिमियर लिग (एनपिएल) भव्य रूपमा सम्पन्न भयो । एनपिएलमा विश्व क्रिकेटमा आ–आफ्नो ख्याति कमाएका क्रिकेटरले प्रतिस्पर्धा गरे । वेस्ट इन्डिजका ब्रायन लाराले एनपिएल हेर्न निमित्तै नेपाल आए । यसैगरी, भारतीय पूर्वओपनर शिखर धवनदेखि न्युजिल्यान्डका जिमी निसमले एनपिएलमा आफ्नो जादु देखाए । नेपाल क्रिकेट संघ (क्यान) प्रतिबन्धमा रहँदा नेपालमा धनगढी प्रिमियर लिग आयोजना भएको थियो । धनगढीसँगै पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग भएका थिए । तर, यी लिगहरूले निरन्तरता पाउन सकेनन् । 

फुटबल : फुटबलको नेपाल सुपर लिग लगातार दुई सिजन भएको थियो । यस वर्ष यो हुने वा नहुने टुंगो छैन । सन् २०२१ मा काठमाडौं र २०२३ मा ललितपुरले नेपाल सुपर लिग उपाधि जितेका थिए । प्रतियोगितामा विराटनगर, काठमाडौं, ललितपुर, चितवन, पोखरा, बुटबल, धनगढी, झापा, स्पोटिङ इलाम झापा र वीरगन्जले प्रतिस्पर्धा गरेका थिए । नेपाल सुपर लिग दुवै सिजन दशरथ रंगशालामा भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक विवादका कारण यो लिगको मिति घोषणा हुन सकेको छैन । 

कबड्डी : नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण ४–१९ माघसम्म हुँदै छ । खेल डबल राउन्ड रोविनमा हुनेछ । पहिलो संस्करणमा ६ टिमको सहभागिता हुनेछ । एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् । ६ टिमले ड्राफ्टबाट ८४ खेलाडी छनोट गरेका छन् । टिमको नाम, टिम प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट अन्तिममा भएको थियो ।