विश्वप्रसिद्ध बिजनेस रियालिटी सो ‘सार्क ट्यांक’को नेपाली संस्करण ‘सार्क ट्यांक नेपाल’ घोषणा भएको छ। नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो सिजनका लागि पाँचजना सार्क सार्वजनिक गरिएको छ। जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरूमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउनेछन्।
पहिलो सिजनका लागि आइएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याबिनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्म ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति सार्कका रूपमा अनुबन्ध भएका छन्। कठिन संर्घषमार्फत व्यावसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा व्यावसायीले उत्कृष्ट सोच र सम्भावना भएका, तर लगानी जुटाउन खोजिरहेका व्यवसायमा लगानीसँगै व्यवसायीलाई मार्गदर्शनसमेत गर्नेछन्।
यस सिजनका लागि अन्य दुई सार्क पछि सार्वजनिक गरिने हिमालय टेलिभिजनले जनाएको छ। सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो सो अहिले विश्वकै सबैभन्दा ठुलो व्यावसायिक रियलिटी सो बनेको छ। ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो सोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ।
कार्यक्रममा हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कँडेलले सार्क ट्यांक नेपालको पहिलो सिजनको सार्कका रूपमा नेपालका सफल उद्यमी-व्यवसायीलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए। ‘यो केवल रियालिटी सो मात्र नभएर नेपालको स्टार्टअप इकोसिस्टममा एउटा नवीन क्रान्ति ल्याउनेछ भन्ने हामीले विश्वास लिएका छौँ,’ उनले भने।
व्यवसायीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित डाटा प्रस्तुत गर्दै, एक निश्चित प्रतिशत व्यवसायको सेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्नका लागि आवेदन गर्न सक्नेछन्। व्यवसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमहरूले हिमालय टेलिभिजनको एप वा वेबसाइटमा गई आवेदन दिन सक्नेछन्। सार्क ट्यांक नेपालको पहिलो सिजनको आवेदन जनबरी १५ तारिखभित्र दिइसक्नुपर्ने बताइएको छ।