एक राजाको फलफूलको विशाल बगैँचा थियो । त्यहाँ जुनकुनै मौसममा पनि फलको कमी हुँदैनथ्यो । कुनै न कुनै फल फलिरहेकै हुन्थ्यो । बगैँचाको रेखदेखका लागि एक किसान आफ्नो परिवारसँगै बगैँचाको एक छेउमा बनेको घरमा बस्थे । उनी हरेक बिहान बगैँचाका ताजा फल लिएर राजाकहाँ जाने गर्थे ।
एक बिहान किसानले एक टोकरी स्वादिला, रसिला अम्बा र अर्को एक टोकरी रसिला चेरी टिपे । उनी एकसाथ दुई टोकरी लिएर राजदरबारतिर लागे । बाटामा जाँदै गर्दा उनलाई आज राजालाई पहिले कुनचाहिँ टोकरी दिने भनेर द्विविधा भयो । अन्तिममा उनले पहिले रसिला चेरीको टोकरी राजालाई दिने विचार गरे । उनी महलमा पुग्दा राजा कुनै विशेष सोचमा डुबेका जस्ता देखिन्थे । उनले चुपचाप चेरीको टोकरी राजाको सामुन्ने राखिदिए र आफू एक छेउमा हात जोडेर उभिए । राजाको मनमा के थियो कुन्नि ? उनी चुपचाप टोकरीबाट चेरी निकाल्दै किसानको निधार ताकेर प्रहार गर्न थाले ।
राजाले प्रहार गरेको चेरी आफ्नो निधारमा लाग्दा किसानले भने– ईश्वर निकै दयालु छन् । राजाले पटक–पटक चेरीले किसानलाई हिर्काइरहे । किसानले पनि पटक–पटक दोहोर्याइरहे– ईश्वर निकै दयालु छन् । किसानको कुरा सुन्दा राजालाई अचम्म लाग्यो । उनले किसानसित प्रश्न गरे– मैले तिमीलाई पटक–पटक चेरीले हिर्काइरहेको छु, तर तिमी भने ईश्वर निकै दयालु छन् भनिरहेका छौ । आखिर यसो किन भनिरहेका छौ ?
किसानले विनम्रतापूर्वक हात जोडेर भने– महाराज ! आज मैले अम्बा र चेरीको टोकरी एकसाथ ल्याएको थिएँ । म पहिले अम्बाको टोकरी हजुरसामु अर्पण गर्न चाहन्थेँ । तर, पछि किन हो, मलाई चेरीको टोकरी पहिले अर्पण गर्ने विचार आयो । यदि मैले चेरीको साटो अम्बाको टोकरी हजुरलाई चढाएको भए आज मेरो कुन हविगत हुँदो हो । त्यसैले म ईश्वरलाई धन्यवाद दिँदै भनिरहेको छु– ईश्वर निकै दयालु छन् । किसानका कुरा सुनेपछि राजालाई आफ्नो गल्ती महसुस भयो । उनले किसानसित माफी मागे ।