एमाले उपाध्यक्ष गुरुप्रसाद बरालले पछिल्लो समय राजनीतिक दलहरूको मुद्दा रूपान्तरित भइरहेको बताएका छन्। उनले विगतमा व्यवस्था परिवर्तन र संविधान निर्माणलाई मुद्दा बनाएका राजनीतिक दलहरूले अहिले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु प्रमुख मुद्दा बनाएको बताए।
एमाले बागमती प्रदेशका सांसदहरूका लागि सुरु भएको सुशासनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले व्यवस्था परिवर्तनसँगै आगामी यात्रा विकास, समृद्धि र सुशासनसँग जोडिएको हुनुपर्ने बताए। त्यसका लागि एमालेका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरूले उक्त विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
‘हामीलाई सुशासनका मामलामा राष्ट्रका नागरिक र अन्तर्राष्ट्रियस्तरबाट मूल्यांकन गरिरहेका छन्।
विभिन्न विधि, प्रक्रियाबाट हामीले उक्त मूल्यांकनको सामना गरिरहेका छौँ। सुशासनमा नेपालको स्थिति राम्रो छैन। अब एमालेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरूले सुशासनको अवस्था उकास्न भूमिका खेल्नुपर्दछ,’ उनले भने। उपाध्यक्ष बरालका अनुसार सुशासनका विषयमा विश्व बैंकको मार्किङ, विश्व अर्थतन्त्र, ग्लोबल इन्साड, विश्व जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसीलगायतले नेपालको सुशासनको अवस्थालाई नियालिरहेका छन्।
भ्रष्टाचारको सूचक र नेपालको स्थितिबारे उक्त संस्थाले मूल्यांकन गरिरहेकाे उनले बताए। ती निकायले करप्सन पर्सेप्सन इन्डेक्स (भ्रष्टाचार अनुभूति सूचकांक) मा नेपाललाई अधिकतम ३५ र न्यूनतम ३१ अंक दिएको उनको भनाइ छ।
सरकारको काम कारबाही र नागरिकको अनुभव मूल्यांकन, आयात, निर्यात तथा सार्वजनिक सेवाको अवस्था, ठेक्का सम्झौता, न्यायिक क्षेत्रको अवस्था, व्यापार, उद्योगको अवस्था, भ्रष्टाचारको नीति तथा निगरानी, सरकारको नेतृत्वमा रहेका तथा सार्वजनिक पद धारण गरेका व्यक्ति प्रवृत्ति, सार्वजनिक पदको दुरुपयोगको अवस्था, राजनीतिक भ्रष्टाचार, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सुरक्षा निकाय र ब्युरोक्रेसीको अवस्थालाई मूल्यांकन गरेर सुशासनको मूल्यांकन भइरहेको उपाध्यक्ष बरालले बताए।
४ दिनसम्म चल्ने प्रशिक्षणमा प्रदेशका सांसदहरूलाई भ्रष्टाचार नियन्त्रण तथा आर्थिक पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुशासन पढाउने एमाले संसदीय दलले जनाएको छ। प्रदेश सांसदहरूलाई बेलायतमा परराष्ट्र मामिला तथा सुशासनका विषयमा काम गर्दै आएका चन्द्रकान्त अधिकारीले मुख्य प्रशिक्षण दिनेछन्।