मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार १५:४४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

किवी खेतीले तान्दै सल्यानका किसानको मन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १५:४४:oo

सल्यानमा किवी खेतीमा किसानको आकर्षण बढ्दो छ । किवीको मूल्य र बजार राम्रो भएपछि सल्यानका किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका– २ बुराँसे, बागचौर नगरपालिका– ९ बथानका किसान व्यावसायिक किवि खेतीमा रमेका छन् ।

०६६ सालदेखि १०० बोटबाट किवी खेती सुरु गरेका छत्रेश्वरी गाउँपालिका– २ बराँसेका तेजबहादुर योगीले वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएका छन् । उनले भने, ‘मैले अहिले ३५ रोपनी जमिनमा किवी खेती गरिरहेको छु । एक हजार ५० बोट मेरो बगैँचामा छन् । यो वर्षको हालसम्म मैले १४० क्विन्टल बिक्री गरिसकेको छु । अझै बिक्री हुन बाँकी नै छ ।’ 

गत वर्ष तीन लाखको किवी बिक्री गरेका बराँसेकै चित्रबहादुर योगीले यो वर्ष गत वर्षको भन्दा डबल उत्पादन हुने अनुमान गरिएको बताए। किवीको क्षेत्रफल विस्तार तथा उत्पादन पनि बढेका कारण यो वर्ष किवीको उत्पादन बढेको उनको भनाइ छ । 

बराँसेका ८०–९० घरधुरीले नै व्यावसायिक किवीखेती गर्दै आइरहेका छन् । अन्नबाली तथा अन्न नगदेबालीभन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानहरूको भनाइ छ । किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बराँसेका सबैले किवीखेती गर्दै आइरहेको किसान चूडामणि बस्नेतको भनाइ छ । उनले भने, ‘१२ रोपनी क्षेत्रफलमा किवी लगाएको छु । गत वर्ष मात्र किवीका नयाँ सय बोट रोपेको छु । आफ्नो बगैँचामा दुई सय बोट रहेको र अहिले सय बोटले फल दिइरहेको छ ।’ किवीखेतीलाई प्रवर्द्ध गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइरहेको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिकाको २ र बागचौर नगरपालिकाको ९ बथानलाई किवी पकेट क्षेत्र बनाएर काम अघि बढाइरहेको जिल्ला विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले बताए । उनका अनुसार जिल्लाभर २६ हेक्टर क्षेत्रफलमा वार्षिक १५० मेट्रिक टन किवी उत्पादन हुँदै आइरहेको छ ।