दक्षिण एसियाकै पहिलो सुरुङ ‘चुरियामाई सुरुङमार्ग’ सर्वसाधारणका लागि खुल्ने भएको छ। जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज सोमबार हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएपछि सुरुङमार्ग सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुल्ने भएको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग बागमती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रमबिच हेटौँडा उपमहानगरपालिकालाई हस्तारन्तरण गर्दै छ। प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माण गरेपछि सुरुङ सञ्चालनको व्यवस्थापन कसले गर्ने भन्ने अन्याेल थियो।
समयमै कार्यविधि नबन्दा र सञ्चालनका लागि तदारुकता नदेखाउँदा सुरुङमार्ग जीर्णोद्धार भएको आठ महिनापछि मात्रै खुल्न लागेको हो। अहिले हेटौँडा उपमहानगरपालिकाले सुरुङमार्गको व्यवस्थापन र सञ्चालन गर्ने सहमति भएपछि सर्वसाधारणका लागि खुला गर्न लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले जानकारी दिए।
सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, विद्यार्थीलाई २० रुपैयाँ र पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क गरिने हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले जानकारी दिइन्।
२०७९ वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम सुरु भएको १९८ मिटर लम्बाइको सुरुङमार्ग पुनर्निर्माणको काम सम्पन्न हुँदासम्म करिब २२५ मिटर पुगेको छ। ऐतिहासिक महत्त्वको सुरुङमार्ग पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित बागमती प्रदेश सरकारले जीर्णोद्धारको काम थालेको थियो।
प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणका लागि कुल तीन करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंलाई जिम्मेवारी दिएको थियो। सम्झौताअनुसार सुरुङको चौडाइ साढे दुई मिटर र उचाइ तीन फिट हुने गरी पहिलेकै स्वरूपमा पुनर्निर्माण गरिएको हो।
सुरुङमार्गको ऐतिहासिक महत्त्व
चुरियामाई सुरुङमार्गको डिजाइन र निर्माणकार्य इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाको नेतृत्वमा वि.सं. १९७४ सालमा सुरु भएको थियो। तत्कालीन समयमा सुरुङको निर्माण कार्यका लागि दुई वर्ष लागेको बताइन्छ।
काठमाडौंलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ।
तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेरको आदेशमा सुरुङमार्ग निर्माणमा नेपाली सेना खटिएका थिए। सात सय मिटर लम्बाइ, नाै फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङमार्गबाट मालवाहक सवारी ‘लरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो।
भारतको रक्सौलबाट बारा जिल्लाको अमलेखगन्जसम्म रेलमार्ग भएर आउजाउ गर्न र मालसामान ओसारपसार गर्न सकिने भए पनि अमलेखगन्जबाट मकवानपुरको हेटौँडा र भीमफेदीसम्म आइपुग्ने सडकमार्गलाई जोड्न सुरुङमार्ग निर्माण गरिएको थियो।
हाल मकवानपुर र बारा जिल्लाको सिमाना हेटौँडा उपमहानगरपालिका– १५ स्थित चुरे पहाड छिचोल्ने गरी उक्त सुरुङमार्ग तत्कालीन समयमा उपलब्ध प्रविधिसँगै माटो, इँटा, चुना र सुर्ती प्रयोग गरी निर्माण गरिएको थियो। वि.सं. २०२०/०२१ सालसम्म मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङमार्ग भएर जिप, लरीलगायतका साना सवारी आवतजावत गर्ने गरेका थिए।
नेपालमा चुरियामाई सुरुङमार्ग बन्नुअघि छिमेकी देश भारतमा समेत कुनै किसिमको सुरुङमार्ग नबनेको हेगनले आफ्नो पुस्तकमा उल्लेख गरेकाले चुरियामाई सुरुङमार्ग नै एसियाको पहिलो सुरुङमार्ग मानिन्छ।
पूर्व–पश्चिम राजमार्ग निर्माण हुनुअघि भारतबाट आयातीत सामग्रीलाई चुरियामाई सुरुङमार्ग हुँदै भीमफेदीसम्म लैजाने र ती सामग्रीहरू भीमफेदीबाट मानिसले बोकेर काठमाडौँ पुर्याउने गरिन्थ्यो। तत्कालीन समयमा ‘चुरियामाई सुरुङमार्ग’ काठमाडौंलाई तराईसँग जोड्ने प्रमुख नाकाको रूपमा थियो।