मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ पौष ७ आइतबार o७:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तातोपानीबाट भित्रिए १४ सय ४० विद्युतीय गाडी

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o७:३o:oo

उत्तरी नाका तातोपानीबाट यो वर्षको वैशाखदेखि मंसिरसम्म १४ सय ४० विद्युतीय सवारीसाधन भित्रिएका छन् । भदौसम्म सामान्य मात्रै भित्रिएका सवारीसाधन दसैँ र तिहार लागेपछि सयाैँको संख्यामा आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । 

असोज १२ गतेको बाढीपहिरोले कोदारी सडक २६ दिन बन्द हुँदा विद्युतीय गाडी खासामा रोकिएका थिए । भोटेकोसी नदी र लिपिङ खोलामा अस्थायी पुल बनेपछि सबै गाडी महिना दिनभित्रै तातोपानी भन्सार यार्डमा ल्याइएको थियो । तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेका अनुसार तीन अर्ब ९२ करोड ७६ हजारको विद्युतीय सवारीसाधन अरनिको राजमार्ग भएर सबै प्रकारका गाडी काठमाडौं पुगेको उनले बताए । ‘विद्युतीय सवारीसाधनबाट दुई अर्ब ११ करोड २७ लाख ५४ हजार राजस्व संकलन भएको छ,’ उनले भने । मंसिरमा मात्रै आयात भएका दुई सय गाडी भन्सार यार्डमा रहेको र राजस्व संकलन जारी रहेको उनले बताए । 

कुन गाडी कति भित्रिए ? 
समीक्षा अवधिमा तातोपानी नाकाबाट १५ देखि २५ सिट भएको मिनीबस एक सय ४७ वटा, ११–१४ सिट भएको माइक्रो बस एक सय नौवटा, ५० किलोवाटका कार, जिप र भ्यान एक सय १७ वटा र ५१ देखि एक सय किलोवाटका आठ सय ९९ वटा भित्रिएका छन् । त्यसैगरी, एक सय एकदेखि दुई सय किलोवाटका कार, जिप र भ्यान एक सय ३४ वटा, दुई सय एकदेखि तीन सय किलोवाटका दुई र तीन सय किलोवाटभन्दा माथिको एउटा कार आयात भएको छ । फोरह्विल गाडी ३१ वटा आयात भएका छन् ।

नेपालतर्फ निर्यात बढाउने चीनको तयारी
चीनले तातोपानी र रसुवा दुवै नाकाबाट सहज ढंगले सामान पठाउन सीमा क्षेत्रतर्फको व्यवस्थापनलाई प्राथमिकता दिएको छ । खासातर्फ व्यवस्थापन द्रुत गतिमा बढाएर सीमामा रहेको एक्सरे मेसिनलाई खासामा स्थापना गरिँदै छ । त्यसैगरी, पुरानो भ्यान पार्किङलाई हटाएर त्यहाँ खासा भन्सार राखिने भएको छ । चिनियाँ ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले नयाँ पत्रिकालाई दिएको जानकारीअनुसार सीमाबाट ३० किलोमिटरमाथि न्यालमसम्म गएर सामान लोड गर्न पाउने व्यवस्था जनवरीदेखि लागू गरिँदै छ ।

खासा पुनर्निर्माणपछि नेपाली गाडी सीमाबाट ३० किलोमिटरमाथि न्यालम जान पाउनेछन् । प्रधानमन्त्री केपी ओलीको भ्रमणपछि चीन सरकारले उत्तरी नाकाहरूलाई थप व्यवस्थित पार्ने योजना बनाएको बताइएको छ । न्यालम र केरुङबाट आएका कन्टेनर तातोपानी र रसुवा भन्सारमा इन्ट्री गरेर चोभार सुक्खा बन्दरगाहमा आउन पाउने नियम पनि लागू हुँदै छ । सीधै चोभार गएर सामान जाँचपास गर्ने कार्यविधि चाँडै आउने काफ्लेले बताए ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले दुवै नाकाबाट व्यापार सहज हुँदै गएको बताए । खासा पुनर्निर्माण र कोदारी सडकको दुरावस्थाले केही समस्या अझै रहेको उनको भनाइ छ । खासा पुनर्निर्माणले ट्राफिक जाम बढी हुने भएकाले पालो मिलाएर सामान क्यारिङ गर्न खासास्थित चिनियाँ ट्रान्सपोर्ट कम्पनीहरूले टेलर र टेलर तान्ने टाउको पहिलाको तुलनामा दोब्बर पारेका छन् ।