एउटा सहरको चोकमा एकजना साहित्यकारको सालिक राख्ने तयारी भइरहेको थियो । त्यसका लागि चर्चित मूर्तिकारले सालिक बनाउने जिम्मा पाए । उनी सालिक निर्माणमा जुटे । केही दिनमै तयार पनि भयो । तर, मूर्तिकार सन्तुष्ट हुन सकेनन् र उनी अर्को सालिक निर्माणमा जुटे ।
मानिसहरू दिनदिनै उनको कला हेर्न आउँथे र प्रशंसा गर्दै फर्किन्थे । जब उनी दोस्रो सालिक निर्माणमा जुटे तब मानिसले सोचे, सायद एउटै साहित्यकारका सालिक फरक–फरक दुई स्थानमा राखिने रहेछन् कि ? खसखस थाम्न नसकेर एकजनाले सोधे– होइन मूर्तिकारज्यू, तपाईंले यति राम्रो एउटा सालिक निर्माण गरिसकेपछि फेरि अर्को पनि बनाउन थाल्नुभयो ।
के एउटै साहित्यकारका दुई सालिक अलग–अलग स्थानमा राख्ने तयारी भइरहेको छ हो ? ढुंगामा छिनु र घन चलाउँदै मूर्तिकारले शान्त भावमा जवाफ दिए– होइन, राख्ने त एउटै हो । प्रश्नकर्ताले पुनः सोधे– त्यसो भए एकैजनाका दुइटा सालिक किन बनाउँदै हुनुहुन्छ त तपाईं ? मूर्तिकारले पुनः जवाफ दिए– पहिलो सालिक बनाउँदै जाँदा त्यसको नाकमा केही रेखा कोरिए । घोटेर तिनलाई मेटूँ भने नाकको आकार नै फरक देखिन्छ । त्यसैले नयाँ बनाउन थालेको हुँ ।
मूर्तिकारको जवाफ सुनेपछि सबैजना घोरिएर पहिलो सालिकको नाक हेर्न थाले । तर, उनीहरूले सजिलै त्यस्तो कुनै रेखा देखेनन् । त्यसैले फेरि तिनै प्रश्नकर्ताले सोधे– यति नजिकबाट हेर्दा त केही देखिएन भने २० फिटमाथि राखिने यो सालिकको नाकमा कोरिएका रेखा कसले देख्ला र ? मूर्तिकारले मुसुक्क हाँस्दै भने– अरूले नदेखेर के भो त ? मैले त देख्छु नि !