नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’को दोस्रो शृङ्खलाका लागि कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ। काठमाडौँस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सो घाषणा गरेको हो।
संस्थाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीचको आपसी सद्भावलाई कायमै राख्न तथा नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए। दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र तेस्रो हुनेले १० लाख रुपैयाँसँगै अन्य पुरस्कारहरु प्राप्त गर्ने बताइएको छ।
‘मेरो भ्वाइस युनिर्भस’मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। ‘मेरो डान्स युनिर्भस’मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शंकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के रहेका छन्।
यस्तै, कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ रहने छन्।
‘मेरो भ्वाइस युनिर्भस’लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’लाई मोसमी गुरुङले निर्देशन गर्ने आयोजकले जनाएको छ। नेपाल टेलिभिजनमार्फत् प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ।
अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ मा बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ। फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिसन हुनेछ।
यसैगरी, मार्च १ र २ मा भारतको मुम्बई र नेपालको नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक तथा मार्च २९ र ३० मा काठमाडौँमा अडिसन हुनेछ।