तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ का विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजना आइतबार सम्पन्न पुरुष र महिलातर्फका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कृत गरेका हुन्।
प्रतियोगिताको उद्घाटन पनि सदस्य सचिव घिसिङले गरेका थिए। फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिप वार्षिक रूपमा आयोजना हुँदै आएको छ। यसपटक महिलातर्फ निर्जला श्रेष्ठ पहिलो, सन्ध्या मगर दोस्रो र निमिषा तामाङ तेस्रो भएका थिए। एक सय ५० जना महिलाबाट छनोट भएका १० जनाले तेस्रो राष्ट्रिय फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिप भाग लिएका थिए।
पुरुषतर्फको खेलमा राजन मगराती पहिलो, सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए। यस्तै गरेर पुरुषतर्फबाट तेस्रो राष्ट्रिय फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिपमा सहभागी हुन दुई सय ५० जना छनोट चरणमा सामेल भएका थिए। तीमध्ये ४० जनाले प्रतिस्पर्धा गर्न पाएको आयोजक संघका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिए।
काठमाडौंको गल्फुटार भएको प्रतियोगिताअन्तर्गत प्रथम हुनेले १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुनमा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने संघका अध्यक्ष अच्युत खनालले बताए।