निर्भीकजंग रायमाझीको शब्द रचना तथा सौरभ ढकालको स्वर र भवीन्द्र कुँवरको संगीतमा ‘धमिलो रङ रानीपोखरीको’ गीत सार्वजनिक भएको छ।
गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दुःख तथा श्रमको मूल्यबारे बोल्ने कोसिस गरेको छ। ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले बताए।
‘संसारभरि नदी सभ्यता तथा पानीबारे गीत बनेका छन्,’ निर्भीकले भने, ‘पोखरी पनि नदी सभ्यताकै एक रूप हो। गीतमा काठमाडौंको मात्र नभई सबै ठाउँको रानीपोखरी, ताल, कुवा आदिलाई प्रतीकात्मक रूपमा प्रयोग गर्न खोजेका छौँ।’
‘हुरी स्टुडियो’ कुपन्डोलमा रेकर्ड गरिएको गीत निर्भीकजंग रायमाझी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।