गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएर अहिले डिल्लीबजार कारागारमा कैद भुक्तान गर्दै छन् । ०६१ मा अर्का गुन्डानाइके चक्रे मिलन (मिलन गुरुङ)लाई खुँडा प्रहार गरी हत्या प्रयास गरेको मुद्दामा २० कात्तिकमा सर्वोच्चले फैसला सुनाएको थियो । त्यसलगत्तै फरार भएका उनलाई एक सातापछि २७ कात्तिकमा सिआइबीले काठमाडौं सानोभर्याङबाट पक्राउ गरेर कारागार चलान गरेको थियो । मनाङ (ख) बाट निर्वाचित भएका मनाङेलाई ठुला दलले गण्डकी सरकार फेरबदलमा बहुमत जुटाउन पालैपालो ६ पटकसम्म मन्त्री बनाएका थिए । मन्त्री पदमा रहँदा उनी अनेक विवादमा पर्दै आएका थिए ।
गम्भीर प्रकृतिका अपराधमा जोडिएका मनाङे एक्ला सांसद भने होइनन् । अन्य प्रदेश सांसद पनि यस्ता अपराधमा मुछिएर कोही दोषी ठहर भइसकेका छन् भने केहीमाथि अनुसन्धान जारी छ । हत्या, हत्या प्रयास, किर्ते, भ्रष्टाचारजस्ता अभियोग बहालवाला सांसदमाथि लागेको छ ।
बादशाह कुर्मी : निर्मला कुर्मीको अपहरण र हत्याको अभियोगमा अनुसन्धानमा
लुम्बिनी प्रदेशका कांग्रेस सांसद बादशाह कुर्मीमाथि बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १७, परस्पुरकी निर्मला कुर्मीको अपहरण र हत्या अभियोगमा अनुसन्धान चलिरहेको छ । निर्मलाको न्यायको लडाइँ लड्दै आएका अधिकारकर्मीहरूको व्यापक दबाबपछि अनुसन्धान थालेको सिआइबीले गत वर्ष मंसिरमा अनुसन्धान सकेर प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । प्रधान कार्यालयले मुद्दा सरकारी वकिल कार्यालय बाँकेमा पेस गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइसकेको भए पनि राजनीतिक दबाबका कारण अझै दर्ता हुन सकेको छैन । बरु यही अवस्थामा बादशाहलाई कांग्रेस–एमाले गठबन्धनले लुम्बिनी प्रदेशको मन्त्रीसमेत बनायो । चौतर्फी विरोध भएपछि मात्रै राजीनामा दिन उनी बाध्य भएका थिए । निर्मला २५ माघ ०७५ को राति अचानक बेपत्ता भएकी थिइन् । अपहरणपछि उनको हत्या गरिएको पुष्टि १४ पुस ०७७ मा भएको थियो । घटनामा नेपालगन्ज– १७ कै बादशाहसहित आठविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले २० चैत ०७७ मा किटानी जाहेरी दिएकी थिइन् । तर, हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । निर्मलालाई न्याय र बादशाहलाई कारबाहीका लागि अधिकारकर्मीले पटक–पटक आन्दोलन गर्दै आएका छन् । पछिल्लोपटक ८२ दिन लामो आन्दोलनपछि गत १३ कात्तिकमा गृह मन्त्रालयसँग तीनबुँदे सम्झौता भएको छ । गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र अधिकारकर्मी रुबी खानले हस्ताक्षर गरेको सम्झौतामा अनुसन्धान प्रतिवेदन शीघ्र निरूपण गर्न प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखी पठाउने उल्लेख छ । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन । श्रीमान् महलु कुर्मीको कालगतिले ०६२ मा मृत्यु भएपछि निर्मला दुई छोरासँगै बस्दै आएकी थिइन् । तर, ०६६ मंसिरमा १० दिनको अन्तरमा निर्मलाका दुवै नाबालक छोराको रहस्यमय मृत्यु भएको थियो । पुख्र्यौली ४ बिघा १० कट्ठा जग्गा मृतक श्रीमान् महलु र जेठो छोरा रामसागरको नाममा थियो । शोककै वेला बादशाह निर्मलाको घरमा आएर जग्गाको लालपुर्जा मात्र होइन, उनीहरूको नागरिकतासमेत कब्जामा लिएका थिए । बादशाह निर्मलाको छिमेकी मात्र नभई तत्कालीन संविधानसभाका सभासद्समेत थिए ।
धनबहादुर केसी : किर्ते मुद्दामा दोषी ठहर, मानव तस्करीमा निगरानीमा
रुकुम पूर्व (ख) बाट लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद धनबहादुर केसी पनि ३३ वर्ष पुरानो किर्ते मुद्दामा फरार रहेको खुलेपछि गत २३ भदौमा पक्राउ परे । श्रीमतीसँगको अंशमुद्दामा कागजपत्र किर्ते गरेको अभियोगमा ०४८ मा उनलाई अदालतले दोषी ठहर गरेको थियो । एक वर्ष कैद र दुई हजार जरिवाना भएकोमा लामो समय फरार थिए । कानुनी रूपमा फरार रहेको अवस्थामा रुकुम पूर्वबाट लुम्बिनी प्रदेशमा चुनाव लडेर जितेका उनी एक वर्षसम्मकै कैदमा जरिवाना बुझाए जेल बस्नुनपर्ने सुविधा पाएर छुटेका थिए । सांसद केसीमाथि मानव तस्करीको आरोप पनि लाग्दै आएको छ । संगठित रूपमा अमेरिकामा मानव तस्करी गरेको भन्दै मानव बेचबिखन ब्युरोमा उनीविरुद्ध बेनामे उजुरी परेको थियो । तर, पीडित नभेटिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छैन । यद्यपि, उनी निगरानीमै रहेको ब्युरोका एक अधिकारी बताउँछन् ।
रेखा शर्मा : बालबालिकाविरुद्धको कसुरमा प्रहरी अनुसन्धानमा
लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मामाथि पनि फौजदारी कसुरमा अनुसन्धान चलिरहेको छ । गैरकानुनी रूपमा घरेलु कामदारका रूपमा राखिएकी बालिकालाई यातना दिएको अभियोगमा उनीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा काठमाडौं प्रहरीमा जाहेरी दर्ता भएको छ । तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरिरहेको छ । हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले गत १४ जेठमा उद्धार गरी सामाजिक संस्थामा पठाएको थियो । प्रहरीमा महानगरपालिकाले नै जाहेरी दिएको थियो । दाङकी एक निम्न आर्थिक अवस्था भएको परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखेकोमा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनलाई महानगरले उद्धार गरेको थियो । जाहेरी दर्ता भएपछि त्यसविरुद्ध सांसद शर्मा उच्च अदालत गएकी थिइन् । सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएकोमा २३ साउनमा दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले अनुसन्धानमा चासो नराखेको महानगरपालिकाका अधिकारीहरू बताउँछन् । प्रधानमन्त्री केपी ओलीले नै शर्मालाई जोगाएको आरोप महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत लगाएका थिए । प्रहरीले भने अदालतबाट पक्राउ पुर्जी नआएकाले पक्राउ गर्न नसकिएको दाबी गरेको छ ।
जानकीप्रसाद यादव : रुख कटानसम्बन्धी भ्रष्टाचार मुद्दा, विशेषले सफाइ दिएपछि सर्वोच्च जाने तयारीमा अख्तियार
कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनमा रुख कटानमा भएको भ्रष्टाचारमा अख्तियारले राप्रपाबाट लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादवविरुद्ध ८ फागुन ०८० मा विशेष अदालतमा मुद्दा चलाएको थियो । तर, विशेषले गत ९ जेठमा सफाइ दिए पनि फैसलामा चित्त नबुझेको भन्दै मुद्दा दायरकर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुनरावेदनमा जाने भएको छ । एमाले नेता लीला गिरी मुख्यमन्त्री हुँदा उनी लुम्बिनीका उद्योगमन्त्रीसमेत बनेका थिए । सांसद हुनुअघि यादव गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष थिए ।
अभिराम शर्मा : हत्या मुद्दामा जन्मकैदको सजाय, दोषी ठहर भएपछि फरार
सशस्त्र प्रहरीका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय भएका लोसपा मधेश संसदीय दलका नेता अभिराम शर्मा फरार छन् । महोत्तरी ३(क) बाट प्रदेश सभामा निर्वाचित शर्मा अदालतबाट फौजदारी मुद्दामा दोषी ठहर भएपछि प्रदेश सभा सचिवालयले उनलाई सांसदबाट निलम्बन गरिसकेको छ । जिल्ला अदालत महोत्तरीले गत वर्ष २८ मंसिरमा शर्मासहित सातजनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसअघि उनी प्रदेश सामाजिक विकास राज्यमन्त्रीसमेत थिए । २५ भदौ ०७२ मा मधेश आन्दोलनका क्रममा मधेशी मोर्चाका प्रदर्शनकारीले असइ विकलाई कुटपिट गरेका थिए । उपचारका लागि एम्बुलेन्समा जनकपुर ल्याउने क्रममा प्रदर्शनकारीले महोत्तरीको सोनुसडामा पुनः आक्रमण गरी ज्यान लिएका थिए । जसमा शर्मा पनि दोषी ठहर भएका हुन् ।
अनिरुद्धप्रसाद सिंह : खेप्दै छन् कर्तव्य ज्यान र डाँका मुद्दा
सप्तरी ४ (ख)बाट मधेश प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्धप्रसाद सिंह कर्तव्य ज्यान र डाँका मुद्दा खेपिरहेका छन् । माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको आरोपमा उनी पक्राउसमेत परेका थिए । जिल्ला अदालतले पुर्पक्षका लागि पठाए पनि उच्च अदालत जनकपुरको राजविराज इजलासले २३ कात्तिक ०८० मा एक लाख २० हजार धरौटी लिएर रिहा गर्यो । चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ देखि मुल्तबीमा रहेको डाँका मुद्दामा पनि सिंह आरोपी छन् ।