मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Wednesday, 18 December, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ मङ्सिर २७ बिहीबार १o:o४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकहरूको निक्षेप बढ्दा पनि मुद्दतीमा छैन आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १o:o४:oo

चार महिनामा एक खर्ब ४८ अर्बले निक्षेप बढे पनि मुद्दतीको अंश १.९५% विन्दुका दरले घट्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप चुलिँदै गए पनि मुद्दतीतर्फको निक्षेपको अनुपात भने क्रमशः घट्दो छ । बैंकरहरूका अनुसार निरन्तर घटिरहेको ब्याजदरका कारण मुद्दतीमा रकम राख्न संस्थागत निक्षेपकर्ता कम आकर्षित भएका छन् । यसले कुल निक्षेपमा मुद्दती निक्षेपको अंश घट्दै गइरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६४ खर्ब ९६ अर्ब थियो । कात्तिक मसान्तसम्म आइपुग्दा निक्षेप ६६ खर्ब ४४ अर्ब पुगेको छ । अर्थात्, चार महिनामा कुल निक्षेप एक खर्ब ४८ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तसम्म कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ५६.०८ प्रतिशत थियो । कात्तिक मसान्तसम्म आइपुग्दा यो हिस्सा ५४.१३ प्रतिशतमा सीमित भएको छ । मुद्दतीको अंश घटे पनि साधारण बचत निक्षेपको हिस्सा भने बढेको देखिन्छ । असार मसान्तसम्म यो हिस्सा ३०.०९ प्रतिशत रहेकोमा कात्तिक मसान्तसम्म आइपुग्दा ३२.५९ प्रतिशत कायम छ । 

वाणिज्य बैंकहरूको कुल निक्षेपमा मुद्दतीको हिस्सा ५३.४७ प्रतिशत, बचतको ३२.७५ प्रतिशत, चालू निक्षेपको हिस्सा ५.८२ प्रतिशत र कल निक्षेप ७.२ प्रतिशत छ । त्यस्तै, विकास बैंकहरूको कुल निक्षेपमा मुद्दतीको हिस्सा ५७.२२ प्रतिशत, बचतको हिस्सा ३३.५६ प्रतिशत, चालू निक्षेपको हिस्सा ३३.५६ प्रतिशत र चालूको १.७२ र कल निक्षेपको हिस्सा ७.४६ प्रतिशत छ।  

असारमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ६.८७ प्रतिशत थियो । मंसिरसम्म आइपुग्दा यो ब्याजदर ५.९९ प्रतिशतमा झरिसकेको छ । ब्याजदर घटिरहँदा मुद्दतीतर्फको आकर्षण घट्नु स्वाभाविक भएको जानकारहरू बताउँछन्।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले ब्याजदर घटिरहेका वेलामा मुद्दतीको तुलनामा बचतमा बढी निक्षेप हुने गरेको बताए । उनले भने, ‘ब्याजदर बढी भएमा मुद्दतीमा आकर्षण बढी हुन्छ । तर, घटेका वेलामा साधारण निक्षेपमा बढी पैसा देखिन्छ । यो स्वाभाविक प्रक्रिया हो ।’

खासगरी वाणिज्य बैंकहरूले एक वर्षभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपको माग गरे पनि संस्थागत निक्षेपकर्ता छोटो अवधिको मुद्दतीमा बढी आकर्षित हुँदा मुद्दतीको अंश घट्दो क्रममा गएको हुन सक्ने बैंकरहरूको विश्लेषण छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेका अनुसार अहिलेको समयमा वाणिज्य बैंकहरू एक वर्षभन्दा बढी अवधिका लागि मुद्दती निक्षेप राख्न चाहन्छन्, तर संस्थागत निक्षेपकर्ता बढेको ब्याजदरमा निक्षेप राख्न बढी इच्छुक छन् । उनले भने, ‘अर्काे महिनाबाट ब्याजदर घटिहाल्छ कि भनेर संस्थागत निक्षेपकर्ताले सकेसम्म तीन महिना वा कम अवधिको निक्षेप राख्दै आएका छन् । तर, अहिले बैंकहरू एक वर्षभन्दा बढी अवधिको मुद्दतीमा निक्षेप बढाउन चाहेको अवस्था छ ।’