सिरियाली राष्ट्रपति बसर अल असदको सत्ता ढलेको छ । सन् २००० को जुलाईदेखि देशको १९औँ राष्ट्रपतिका रूपमा लामो समयदेखि शासन गरिरहेका असदले अन्ततः विद्रोहीसामु घुँडा टेकेका छन् । असदले देश छोडेर भागेको विद्रोहीहरूले दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरिर अल साम (एचटिएस)ले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो । एचटिएस दमास्कसतर्फ अघि बढेपछि सरकारी सेना र विद्रोहीबिच गोली हानाहान भएको थियो । देशको तेस्रो ठुलो सहर होम्सलाई नियन्त्रणमा लिएको केही घण्टापछि विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गरेका थिए । विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो ।
यसअघि सन् २०११ मा पनि असदको शासनविरुद्ध विद्रोह भएको थियो । सुरुमा शान्तिपूर्ण भएको आन्दोलन गृहयुद्धमा परिणत भएको थियो । युद्धमा विभिन्न क्षेत्रीय समूह र वैश्विक शक्ति सहभागी थिए । सिरियाली सेनालाई रुस र इरान समर्थित लडाकु समूहले असदको सेनालाई सहयोग गरेको थियो भने अमेरिकाले कुर्दिस विद्रोहीलाई सरकारविरुद्धको संघर्षमा साथ दिएको थियो । गृहयुद्धमा पाँच लाखको मृत्यु भएको छ भने एक करोडभन्दा बढी मान्छे विस्थापित भएका छन् ।
राजधानीमा खुसियाली र विजय उत्सव
कुर्दिस नेतृत्वको विद्रोहीले सिरियामा पाँच दशक लामो शासनको अन्त्य भएको घोषणा गरेका छन् । दमास्कसमा विद्रोहीले असदको बहिर्गमनको घोषणा गर्दै सडकमा विजय उत्सव मनाएका थिए । केही विद्रोही सेनाका बख्तरबन्द गाडीमाथि चढेर खुसियाली मनाएका थिए भने कोही असदका पिता हाफेजको ढलेको सालिकमा सुतेर तस्बिर तथा भिडियो खिच्दै थिए । दमास्कसका बासिन्दा आमेर बाथाले एएफपीसँग भने, ‘हामी सिरियाका लागि नयाँ इतिहास लेख्न सुरु गर्दै छौँ ।’ एचटिएस समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान सुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको बहिर्गमन भएको हो ।
कहाँ भागे असद ?
रुसका रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका छन् । रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल दमास्कसबाट विमान चढेर भागेको जनाएको छ । बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)का प्रमुख रामी अब्देल रहमानले पनि असद दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडेको बताए । तर, असद कहाँ गए भन्ने कसैले भन्न सकेको छैन । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका केही अपुष्ट भिडिओ फुटेजमा असदका विरोधीलाई मृत्युदण्ड र यातना दिने गरिएको कुख्यात कारागारबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ । राष्ट्रपति ‘भागेपछि’ सार्वजनिक संस्थानहरू प्रधानमन्त्रीले सम्हाल्ने विद्रोहीहरूले बताएका छन् । प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमै रहन र सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
सिरिया स्थिरतामा फर्किने चीनको आशा
कुर्दिस इस्लामिक समूह नेतृत्वको विद्रोहीले दमास्कस कब्जा गरेको र राष्ट्रपति असद भागेको घोषणा गरेपछि चीनको विदेश मन्त्रालयले सिरिया ‘जतिसक्दो चाँडो स्थिरतामा फर्कने’ आशा व्यक्त गरेको छ । ‘बेइजिङले सिरियाको अवस्थालाई नजिकबाट नियालिरहेको छ र सिरिया जतिसक्दो चाँडो स्थिरतामा फर्कने आशा गरेको छ,’ चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पछिल्ला वर्षहरूमा दमास्कससँग बेइजिङको पनि राम्रो सम्बन्ध छ । सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएयता असदले भ्रमण गरेका मध्यपूर्वबाहिरका केही देशमध्ये चीन पनि एक हो । सन् २०२३ को उक्त भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङ र असदले दुई देशबिच ‘रणनीतिक साझेदारी’को घोषणा गरेका थिए ।
आरोह अवरोहबिच असदको सत्ताको २५ वर्ष
सन् २००० मा आफ्ना पिता हफेज अल–असदको मृत्युपछि सिरियाली राष्ट्रपति बसर अल असदको सत्तारोहण भएको थियो । ३० वर्षसम्म शासन गरेका हफेजको मृत्युपछि जुलाई १७ मा असद सिरियाको नयाँ राष्ट्रप्रमुख बनेका थिए । जुन १० मा हफिजको मृत्यु भएको दिन संसद्ले राष्ट्रपति बन्नका लागि आवश्यक पर्ने न्यूनतम उमेर घटाउन संविधान संशोधन गरी असदलाई राष्ट्रपति बन्ने मार्गप्रशस्त गरेको थियो । सत्तारोहण भएदेखि नै उनको सरकारविरुद्ध आन्दोलन गर्न सिरियाली विपक्षीहरूले गठबन्धन गरेका थिए ।
उनी सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेतामा नियुक्त भएका थिए । सोही वर्ष सेप्टेम्बरमा १०० जना सिरियाली बुद्धिजीवीहरूले सन् १९६३ देखि लागू भएको सैनिक शासनको अन्त्य, थप स्वतन्त्रता र राजनीतिक बहुलवादको माग गरेका थिए । यसलाई ‘दमास्कस स्प्रिङ’ भनिन्छ । असद सरकारले सन् २००१ को जुलाईमा १० जना विरोधीलाई गिरफ्तार गरेको थियो ।
सन् २००५ को फेब्रुअरीमा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको बेरुतमा भएको बम विस्फोटमा मृत्यु भएको थियो । प्रमुख पश्चिमा शक्ति र लेबनानी विपक्षीहरूले लेबनानमा बलियो सैन्य उपस्थिति रहेको सिरियालाई हरिरीको मृत्युका लागि दोष दिन्छन् । तर, दमास्कसले यसलाई अस्वीकार गरेको छ ।
सन् २००५ अक्टोबरमा विपक्षी पार्टीहरूले संयुक्त ‘दमास्कस घोषणापत्र’ जारी गर्न एकजुट भए । उनीहरूले आमूल लोकतान्त्रिक परिवर्तनको आह्वान गरे र ‘अधिनायकवादी शैली र साम्प्रदायिक शासन’को आलोचना गरे।
तत्कालीन प्रशासनले विपक्षी कार्यकर्ता र बुद्धिजीवीहरूमाथि व्यापक दमन गरेको थियो । दमनले प्रजातन्त्रका लागि गरिएको आन्दोलनलाई थप ऊर्जा मिलेको थियो । सन् २००५ को दमनपछि देशव्यापी रूपमा असदविरुद्ध संगठित रूपमा विरोध भएको थियो ।
सन् २००७ को डिसेम्बरमा प्रजातन्त्र पक्षधर विपक्षीहरूको गिरफ्तारीको नयाँ लहर सुरु भयो । सन् २०११ को मार्चमा अरब स्प्रिङ नाम दिइएको सशक्त आन्दोलनको घोषणा भयो । यसले सिरियामा नागरिक स्वतन्त्रता र राजनीतिक कैदीहरूको रिहाइको माग गर्दै विरोध प्रदर्शन सुरु ग¥यो । सरकारले आन्दोलनलाई व्यापक बल प्रयोग गरी दबायो ।
सन् २०११ मार्च महिनामा नै असद प्रशासनले ‘आतंककारी’ घोषणा गरेका व्यक्तिहरूमाथि रक्तपातपूर्ण कारबाही सुरु ग¥यो जुन तत्कालीन सरकारका लागि अभिशाप नै साबित हुनपुग्यो । अन्दोलनसँगै देशमा गृहयुद्धको सुरुवात भयो । यस युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू र जिहादीहरू पनि सामेल भए ।
सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमणलगायत भारी हतियार प्रयोग गरेको थियो । यसलाई धेरैपटक रासायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको छ । तर, असद प्रशासनले यो आरोपको बारम्बार खण्डन गर्दै आएको छ । रुस, इरान तथा तेहरान समर्थित लेबनानी सिया लडाकु समूह हिजबुल्लाहको ठुलो सैन्य समर्थनका कारण असदको शासन लम्बियो ।
लामो समयसम्म चलेको युद्धमा ठुलो जनधनको क्षतिपछि सन् २०२० को मार्चमा रुस र टर्कीबिच भएको सम्झौतापछि युद्धविराम भयो । युद्धविरामबिच बमबारी र छिटपुट जिहादी आक्रमणले भने निरन्तरता पाएका थिए ।
यस युद्धमा पाँच लाखभन्दा बढी मानिसको मृत्यु भएको छ, देशको युद्धपूर्वको आधा जनसंख्या विस्थापित भएका छन् । विपक्षीहरूको तीव्र विरोध र शक्तिशाली विपक्षी दलहरूको निर्वाचन बहिष्कारबिच सन् २०२१ को मे २६ मा गरिएको निर्वाचनमा असद ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि पुनः निर्वाचित भए ।
सन् २०११ मा जनविद्रोहविरुद्ध गरेको कारबाहीको प्रतिक्रियास्वरूप सिरियालाई अरब लिगबाट बर्खास्त गरिएको थियो । तर, सन् २०२३ को मे महिनामा रुस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो । सन् २०१३ मा सिरियामा भएको रासायनिक आक्रमणका लागि मानवताविरुद्धको अपराधमा संलग्न रहेको आशंकामा फ्रान्सले सन् २०२३ को नोभेम्बरमा असदविरुद्ध अन्तर्राष्ट्रिय पक्राउपुर्जी जारी गरेको थियो । त्यसको अर्को दिन संयुक्त राष्ट्रसंघको सर्वोच्च कानुनी निकाय अन्तर्राष्ट्रिय अदालतले सिरियालाई यातना र क्रूर र अपमानजनक व्यवहार अन्त्य गर्न आदेश दिएको थियो ।