मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
रासस त्रिशूली
२o८१ मङ्सिर २३ आइतबार १३:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटको दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा

Read Time : > 1 मिनेट
रासस, त्रिशूली
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १३:२o:oo

धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो।

यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजारहाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए। उनका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ।

मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा–आराधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहेका अध्यक्ष थापाले बताए।

दुप्चेश्वर महादेवको महिमा
पौराणिक कथनअनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दुध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा–आराधना गर्ने परम्परा स्थापित भएको मन्दिरका पुजारी धितालले बताए। गाईले दुध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उनको भनाइ छ।

यस पवित्र स्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौंको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किंवदन्तीसँग जोडिएको पुजारी धितालले बताए। उनका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ।

मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको संख्यामा भक्तजन पुग्ने गरेका छन्। धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको संख्यामा भक्तजन यहाँ जाने गर्दछन्।

दुप्चेश्वर महादेवलाई हिन्दु र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ। महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ। काठमाडौंबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ।

काठमाडौंको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानीटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किलाेमिटर यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ। काठमाडौंबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गँगटे–ढिकुरे–माछापोखरी (नुवाकोट)–खरानीटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किलाेमिटर यात्रा तय गर्नुपर्दछ। नुवाकोटको सदरमुकाम विदुरबाट ४० किलाेमिटर उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ।

मन्दिरनजिकै पर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ। रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिर पुगिन्छ।