मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
गणेश लम्साल विराटनगर
२o८१ मङ्सिर २३ आइतबार o९:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस कोशी प्रदेशस्तरीय प्रथम सम्मेलन : शेखरले गरे बहिष्कार, गुटउपगुट अन्त्य गर्ने देउवाको घोषणा 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार o९:२५:oo

कांग्रेस कोशी प्रदेशस्तरीय प्रथम सम्मेलन शनिबार विराटनगरमा सुरु भएको छ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । आफ्नै गृहजिल्ला मोरङमा भएको सम्मेलनमा नेता डा. शेखर कोइराला सहभागी भएनन् । 

कांग्रेस कोशी समितिले प्रदेश सम्मेलनको तयारी थालेपछि शेखर समूहले १८ मंसिरमै विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला आयोजना गरेको थियो । भेलामा सबैले आगामी महाधिवेशनबाट कोइराला सभापति बन्ने संकल्प पारित गरेका थिए । स्वयं नेता कोइरालाले पनि १५औँ महाधिवेशनपछि पार्टीमा गुटउपगुट अन्त्य हुने बताउँदै आफ्ना समर्थक कार्यकर्ताको संरक्षण गर्ने घोषणा गरेका थिए । 

संस्थापन पक्षले गरेको कोशी प्रदेशस्तरीय प्रथम सम्मेलनमा नेता शेखर कोइराला मर्यादाक्रमको कारण देखाउँदै सहभागी नभएका हुन् । उनी शनिबार चितवन पुगेका थिए । सम्मेलनमा कोइराला पक्षका नेताहरू डा. मीनेन्द्र रिजाल, गुरुराज घिमिरे पनि उपस्थित भएनन् । कोइराला पक्षका केन्द्रीय सदस्य सरिता प्रसाईं, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, सांसद डा. सुनील शर्मा, विराटनगर महानगरका सभापति दीपक चापागाईंलगायत भने सहभागी थिए ।

कांग्रेस सभापति देउवाले चीन भ्रमण आफूहरूको चाहनाअनुसार सफल बनाएकोमा प्रधानमन्त्री केपी ओलीलाई बधाई दिए । तल्लो तह बलियो भए मात्र पार्टी र लोकतन्त्र बलियो हुने भन्दै देउवाले एक भएर संगठन बलियो बनाउन निर्देशन दिए । उनले पार्र्टी बलियो बनाउन स्थानीय तहदेखि नै विवाद र गुटउपगुट अन्त्य हुन र समयमै विधानको कार्यान्वयन हुन आवश्यक भएको बताए । उनले ग्रासरुट बलियो नभएको पार्टी कहिल्यै बलियो हुन नसक्ने पनि बताए । 

उपसभापति पूर्णबहादुर खड्काले पार्टी सम्मेलनमा सहभागी नहुने, तर सडक–सडकमा कुरा काट्दै हिँड्दा पार्टी र नेता दुवै बलियो हुन नसक्ने बताए । कांग्रेस महामन्त्री गगन थापाले उत्तेजना ल्याएर मात्र संविधान संशोधन हुन नसक्ने बताए । उनले नयाँ र पुरानो संविधानको प्रतिफलको बृहत् समीक्षा गर्दै गणतन्त्र, संघीयता र समानुपातिक रक्षाका लागि आवश्यक विषयमा संविधान संशोधन गर्ने कांग्रेसले तयारी गरिरहेको बताए ।