२३ मंसिरमा उद्घाटनको तयारी, तर जग्गा स्वामित्वको नगरपालिकासँग समन्वयसमेत छैन
झापाको दमक नगरपालिका– ३ दापगाँछीमा बनेको १८ तले भ्यु टावरको घरनक्सासमेत पास नगरी उद्घाटन हुँदै छ । गृहनगरमा बनेको भव्य भ्यु टावर उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली २३ मंसिरमा झापा आउने सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ ।
प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री भएका वेला उनको गृहनगरमा भ्यु टावर निर्माणको सोच अघि सर्दै दमक– ३ मा जग्गा व्यवस्थापन भएको थियो । उनी दोस्रोपटक प्रधानमन्त्री हुँदा २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख रुपैयाँमा निर्माणका लागि ठेक्का लागेको थियो । २७ पुस ०७८ मा निर्माण सम्पन्न गर्ने गरी टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का लिएका थिए । यो भ्यु टावर सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भएको हो ।
सरकारले विशिष्ट संरचनाको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गरिसकेको छ । जसअन्तर्गत दमकको भ्यु टावर पनि सञ्चालन हुनेछ । यसअन्तर्गत गठन हुने समितिले आफूमातहत आएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि दमकको भ्यु टावरसम्म टेन्डरमार्फत चलाउने जिम्मा निजी क्षेत्रलाई दिनेछ । उद्घाटनअघि पनि भ्यु टावरमा मासिक करिब ८० हजार रुपैयाँ खर्च छ । दुईजना सफाइ कर्मचारी र बिजुलीको खर्च गरी करिब ८० हजार खर्च आइरहेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका सूचना अधिकारी मिक्सम राईले बताए ।
बिजनेस टावरका रूपमा रहेको भ्यु टावर उद्घाटनको अन्तिम तयारी भइरहेको छ । दमक चोकदेखि करिब पाँच किलोमिटर उत्तर–पश्चिममा रहेको भ्यु टावर उद्घाटनको तयारी भइरहँदा वातावरणीय प्रभाव मूल्यांकनसमेत भएको छैन । त्यति मात्र होइन, संरचना बनाउँदा दमक नगरपालिकाबाट स्वीकृतिसमेत लिइएको छैन । १८ तले भव्य संचरना निर्माण गर्दासमेत घरनक्सा पनि पास नगरिएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताइन् । उनका अनुसार सघन सहरीले दमक नगरपालिकामा आएर प्रक्रिया अघि बढाए पनि राजस्वको रकम बढी आएपछि काम पूरा नगरी गएको थियो । ‘घरनक्सा पास गर्दा राजस्वबापतको २८ लाख रुपैयाँ आयो । त्यसपछि उहाँहरू सम्पर्कमा आउनुभएन,’ उनले भनिन्, ‘यतिका ठुलो संरचना बनाउँदा पनि दमक नगरपालिकाबाट घरनक्सा पास भएको छैन । संरचना बनाउँदा घरनक्सा पास गर्नु सामान्य कुरा हो ।’
घरनक्सा पास गर्दा राजस्वबापतको २८ लाख रुपैयाँ आयो । त्यसपछि उहाँहरू सम्पर्कमा आउनुभएन । यतिका ठुलो संरचना बनाउँदा पनि दमक नगरपालिकाबाट घरनक्सा पास भएको छैन । संरचना बनाउँदा घरनक्सा पास गर्नु सामान्य कुरा हो ।
-रेगिना भट्टराई प्रसाईं, उपप्रमुख, दमक नगरपालिका
भ्यु टावर बनेको पाँच बिघा जग्गा दमक नगरपालिकाको नाममा छ । दमक नगरपालिकाको नाममा रहेको जग्गामा संघीय सरकारले बनाएको भव्य संरचना उद्घाटनको सूचना दमक नगरपालिकाले हालसम्म पाएको छैन । दमक नगर प्रमुख राप्रपाका रामकुमार थापा र उपप्रमुख कांग्रेसकी रेगिना भट्टराई भएकाले संघीय सरकारले नगरपालिकासँग समन्वय नगरी भ्यु टावर सञ्चालनसँगै उद्घाटनको तयारी थालेको हो ।
‘भ्यु टावर उद्घाटन हुँदै छ भन्ने बाहिर हल्ला सुनेको हो । दमक नगरपालिकाको स्वामित्वमा रहेको भ्यु टावर सञ्चालनका लागि हामीसँग समन्वय पनि गरिएन,’ उपप्रमुख भट्टराईले भनिन्, ‘अहिले दमक नगरपालिकाले भ्यु टावर सञ्चालन गर्न मानेन भनेर हल्ला फैलाएको छ । हामीले संघीय सरकारलाई सञ्चालन गर्न सक्षम छौँ भनेर बारम्बार भन्यौँ । हालै पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई आग्रह गरेका थियौँ । तर, हामीसँग समन्वय र सल्लाह भएन ।’
सघन सहरीले भने घरनक्सा पास गर्ने प्रक्रियामा रहेको जनाएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख रमेश थिङले दमक नगरपालिकामा विज्ञ कर्मचारीको अभावमा भ्यु टावरको घरनक्सा पास हुन नसकेको बताए । उनले भने, ‘घरनक्सा पासका लागि धेरै अगाडि कागजात पेस गरेको हो । सायद नगरपालिकामा त्यो विज्ञता नभएर होला पास हुन सकेको छैन,’ उनले भने, ‘यति ठुलो संरचना सबै मापदण्ड पूरा गरेर बनाइएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा बनाइएको छ । पछि पास भइहाल्छ नि !’ दमक नगरपालिकाकी उपप्रमुख भट्टराईले भने आफूहरूसँग विज्ञ कर्मचारीको अभाव नभएको बताइन् । उनले राजस्वबापत लाग्ने रकम नगरपालिकामा दाखिला गरे तत्काल घरनक्सा पास हुने दाबी गरिन् ।