मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २० बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर २० बिहीबार ११:१७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी नियन्त्रण : चिनियाँ प्रविधि विकासको प्रवर्द्धन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २० बिहीबार ११:१७:oo

चीनलाई दबाब दिने त्रुटिपूर्ण अमेरिकी रणनीतिले चीनको प्रविधि उद्योगलाई रोक्नुको सट्टा यसलाई बलियो बनाउन सक्छ

डिसेम्बर ३ मा चाइना इन्टरनेट सोसाइटी, चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स, चाइना सेमिकन्डक्टर इन्डस्ट्री एसोसिएसन र चाइना एसोसिएसन अफ कम्युनिकेसन इन्टरप्राइजेजले संयुक्त रूपमा वक्तव्य जारी गर्दै अमेरिकी चिप्स उत्पादन अब सुरक्षित र भरपर्दो नरहेको जनाएका छन् । ती संस्थाले चिनियाँ कम्पनीलाई अमेरिकी चिप्स खरिद गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन् । यसको एक दिनअघि अमेरिकी सरकारले चिनियाँ कम्पनीलाई लक्षित गर्दै नयाँ निर्यात नियन्त्रणको घोषणा गरेको थियो । सो घोषणामा एक सय ४० भन्दा बढी चिनियाँ कम्पनीलाई वाणिज्य विभागको एन्टिटी सूचीमा समावेश गरिएको छ, जसमा सेमिकन्डक्टरसँग सम्बन्धित अर्थात् सेमिकन्डक्टर निर्माण उपकरण र इलेक्ट्रोनिक डिजाइन अटोमेसन उपकरण उत्पादन गर्ने कम्पनी समेटिएका छन् । यसबाहेक अमेरिकाले आफ्नो ‘लङ–आर्म जुरिसडिक्सन’ (बृहत् क्षेत्राधिकार) विस्तार गरेर चीन र तेस्रो देशबिचको व्यापारलाई पनि सीमित गरेको छ । अमेरिकी सरकार र केही अमेरिकी मिडियाले यी उपायको प्रभावलाई अतिरञ्जित गरे पनि यस्ता दबाबले चीनको प्रविधि उद्योगको विकास र प्रगतिलाई रोक्न नसक्ने तथ्य पटक–पटक प्रमाणित भएको छ । 

अमेरिकाका प्रतिबन्धात्मक उपाय अपेक्षित नै थिए । विभिन्न रिपोर्टअनुसार नियन्त्रणसम्बन्धी दस्ताबेजका अधिकांश सामग्री यही वर्षको मध्यसम्म तयार भइसकेको थियो । तर, सहयोगी राष्ट्र र चिप उपकरण कम्पनीसँगको वार्ताका कारण यो ढिला भएको थियो । यी वार्ता महिनौँसम्म चले, नीतिमा धेरैपटक संशोधन गरियो र उद्योगका ठुला कम्पनीले लबिङमा ४० लाख डलरभन्दा बढी खर्च गरेका थिए । तथापि, दुई सय पृष्ठ लामो अन्तिम दस्ताबेजलाई ‘जटिल’ र ‘त्रुटिपूर्ण’ भनेर आलोचना गरिएको छ । यसको तयारी प्रक्रिया र परिणामलाई अव्यावहारिक मानिएको छ, जसले इतिहासको प्रवृत्तिविपरीत जाने धेरै कम्पनी तथा व्यक्तिलाई क्षति पुर्‍याउनेछ । नतिजा नियन्त्रणात्मक उपायको कार्यान्वयन कठिन र यसको प्रभावकारिता शंकास्पद देखिएको छ ।

नियन्त्रणका उपाय वास्तवमा मनोमानी ढंगले घोषणा गरिएका छन् । एन्टिटी सूचीमा समावेश भएका एक सय ४० भन्दा बढी चिनियाँ कम्पनीमध्ये केहीलाई केवल हुवावेसँग व्यापारिक सम्बन्ध राखेका आधारमा सूचीकृत गरिएको छ, जबकि अन्यलाई अमेरिकी उच्च–प्रविधि कम्पनीको अधिग्रहणमा सहभागी भएकाले ‘अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने’ भन्दै सूचीमा राखिएको छ ।

अमेरिकाले यो नियन्त्रणमार्फत आफ्नो प्रभाव विस्तार गरेको छ, जसले जापान, नेदरल्यान्ड्स, इजरायल, मलेसिया, सिंगापुर, दक्षिण कोरिया र ताइबानजस्ता क्षेत्रलाई असर पारेको छ । यसले विश्वव्यापी औद्योगिक स्थिरता र व्यापार व्यवस्थामा अवरोध पुर्‍याएको छ । यो नियन्त्रण प्रयास अमेरिकी समस्याका लागि अरूलाई ‘औषधि खान’ बाध्य पार्नेजस्तै मानिएको छ । यो कदमले चीनलाई आत्मनिर्भर सेमिकन्डक्टर उद्योग निर्माणको संकल्प र क्षमतालाई थप मजबुत मात्र बनाउने भन्दै अधिकांश अन्तर्राष्ट्रियस्तरका छापामा आएका धारणा यस कदमको विरोधमा छन् । यो नियन्त्रण पछिल्ला वर्षमा चीनमा चिप्स निर्यातमा अमेरिकाले लगाएको तेस्रो चरणको नियन्त्रण हो । प्रत्येक चरणका उपायले सूची विस्तार गर्दै थप मुलुक र क्षेत्रलाई समेटेका छन्, जसले अमेरिकालाई गतिरोधको अवस्थामा पुर्‍याएको छ । चीनलाई दबाब दिने अमेरिकी रणनीति त्रुटिपूर्ण छ, वास्तवमा यसले चीनको प्रविधि उद्योगलाई रोक्नुको सट्टा यसलाई बलियो बनाउन सक्छ । नयाँ नियमअनुसार अमेरिकी सामग्रीको सीमा शून्यमा झारिएको छ, जसको अर्थ अमेरिकी प्रविधिबाट निर्माण वा डिजाइन गरिएको एउटा चिपसमेत चिनियाँ कम्पनीलाई पठाउनमा रोक लाग्नेछ ।

यस्ता नियमन र नियन्त्रणले पक्कै पनि भय उत्पन्न गराउन सक्छन् । तर, यी नियन्त्रणको वास्तविक प्रभाव लगभग शून्य नै छ । अमेरिकाले हुवावेविरुद्ध यस्ता ‘आपूर्ति कटौती’ उपाय लामो समयदेखि लागू गरेको छ । तर, यसले हुवावेको ‘उत्कर्षपूर्ण रूपान्तरण’लाई रोक्न सकेन । न्युयोर्क टाइम्स स्पष्ट रूपमा चीन विश्वका अधिकांश इलेक्ट्रोनिक्स कारखानाको केन्द्र हो र आफैँमा ठुलो उपभोक्ता बजार पनि हो भन्छ । त्यसैले सेमिकन्डक्टरको सन्दर्भमा चीनसँग व्यापार र सहकार्य गर्नु अपरिहार्य छ र यो विश्वव्यापी आपूर्ति शृंखलाको प्राकृतिक प्रवाह हो ।

विश्वव्यापी औद्योगिक र आपूर्ति शृंखलाको स्थिरता एवं सुरक्षालाई उपेक्षा गर्ने अमेरिकी रवैयाका कारण चीनका विभिन्न उद्योग संघले अमेरिकी चिप्स खरिदमा ‘सतर्कता’ अपनाउन आग्रह गरेका छन् । यी संघको यो आग्रह आवश्यक छ र यो चीनको स्वतन्त्र खुलापन विस्तार गर्ने प्रतिबद्धतासँग बाझिँदैन । चीनको प्रविधि उद्योगको विकासको जग विश्वव्यापीकरणमा आधारित छ । यसले यही प्रक्रियामार्फत आर्थिक प्रगति एवं सुदृढीकरण गरेको छ र भविष्यमा पनि विभिन्न देशका उद्यमसँग सहकार्यलाई थप गहिरो बनाउँदै विश्वव्यापी उद्योगको समृद्ध विकासलाई प्रवर्द्धन गर्ने दिशामा सक्रिय रहिरहनेछ । र, यो मार्ग कुनै हालतमा डगमगाउनेछैन ।

केही अमेरिकी चीनको विदेशी मुलुकसँगको प्रविधि आदानप्रदानलाई अवरुद्ध गर्न चाहन्छन् र यसमा अमेरिका पनि पर्छ । र, यो प्रयासले अनिवार्य रूपमा चीनलाई अन्य मुलुकसँग थप नजिक बनाउनेछ र अन्ततः अमेरिका अलगथलग पर्नेछ । विश्वका केही मुलुकले वित्तीय क्षेत्रबाट सुरु भएको ‘अमेरिकीकरणबाट मुक्ति’ प्रक्रिया चलाइरहेका छन् । यदि विश्व सेमिकन्डक्टर उद्योग एक प्रकारको प्रतिस्पर्धा हो भने वासिंटन आफ्नो मार्गबाट गुमराह भएको एक त्यस्तो जहाज बनेको छ, जसले अन्य जहाजलाई ठुलो जोखिममा पुर्‍याउँछ । वैश्विक प्रौद्योगिकीको विकास एक समुदाय हो र साझेदारीको ठुलो समूहमा फर्कनु मात्रै अमेरिकाका लागि विवेकपूर्ण विकल्प हो । हामी आशा गर्छौं कि वासिंटनले यो तथ्यलाई चाँडै आत्मसात् गर्नेछ ।

(ग्लोबल टाइम्सको १९ मंसिरको सम्पादकीय)