मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Saturday, 30 November, 2024
आधुनिक डिपो बनाउन रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा रहेको आयल निगमको जग्गा ।
अजित अधिकारी काठमाडाैं
२o८१ मङ्सिर १५ शनिबार १o:o५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुह्येश्वरी, रुपन्देही र कञ्चनपुरमा नयाँ इन्धन डिपो 

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार १o:o५:oo

- काठमाडौं विमानस्थलमा उडान र अवतरण गर्ने जहाजलाई अन्डरग्राउन्ड पाइपबाट इन्धन भर्ने सुविधासहित ६ अर्ब लागतमा गुह्येश्वरीमा डिपो बन्दै, पुल्चोक इन्जिनियरिङले थाल्यो डिपिआर

- रुपन्देहीमा तीन अर्ब लागतमा नयाँ डिपो बनाउन काठमाडौं विश्वविद्यालयसँग डिपिआर सम्झौता, धनगढीको डिपो कञ्चनपुरमा सार्न सरकारी जग्गा खोजिँदै

नेपाल आयल निगम लिमिटेडले यो वर्ष एकसाथ तीन ठाउँमा नयाँ इन्धन डिपो निर्माणमा हात हालेको छ । काठमाडौंको सिनामंगलस्थित हालको हवाई इन्धन डिपो त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत ‘ट्याक्सी वे’मा परेकाले गुह्येश्वरी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको छ ।

प्रदीप यादव, उपनिर्देशक, नेपाल आयल निगम
सिनामंगल र रुपन्देहीमा नयाँ डिपो बनाउन डिपिआर सम्झौता भइसकेको छ । ६ महिनापछि प्राप्त हुने डिपिआरअनुसार परियोजना अघि बढाउन चालू आर्थिक वर्ष ०८१/८२ मै टेन्डर आह्वान गर्ने योजना छ । गुह्येश्वरीमा नयाँ हवाई इन्धन डिपो बनाउँदा पाइपलाइनबाटै जहाजमा इन्धन भर्न सुविधा हुनेछ ।

त्यस क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा नयाँ डिपो निर्माण हुने आयल निगमको ‘भण्डारण क्षमता वृद्धि परियोजना’का प्रमुख प्रदीप यादवले जानकारी दिए । यहाँ डिपो स्थानान्तरणका लागि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सम्झौता पनि भइसकेको छ ।

त्यस्तै, रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा खरिद गरेको २१ बिघा जमिनमा आधुनिक सुरक्षा प्रणाली जडान गरेर नयाँ इन्धन डिपो निर्माणका लागि गत बुधबार काठमाडौं विश्वविद्यालयसँग डिपिआर सम्झौता भएको छ । दुवै डिपिआर ६ महिनाभित्र तयार हुने र त्यसपछि परियोजना निर्माणले गति लिने यादवले जानकारी दिए । ‘डिपिआरअनुसार परियोजना अघि बढाउन चालू आर्थिक वर्ष ०८१/८२ मै टेन्डर आह्वान गर्ने योजना छ,’ यादवले भने । 

रुपन्देहीको भलबारीमा निगमको लुम्बिनी प्रादेशिक कार्यालय सञ्चालनमा छ । करिब पाँच बिघा क्षेत्रफलमा रहेको ४० वर्ष पुरानो सो डिपो साँघुरो भएको, नवीन प्रविधि जडान गर्न नसकिएको र स्थान अभावका कारण टैंकट्रकलाई पर्याप्त पार्किङ स्थलको अभाव रहेकाले स्थानान्तरणको आवश्यकता रहेको निगमको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख इन्जिनियर शैलेन्द्र भुसालले जानकारी दिए । यहाँ नयाँ डिपो निर्माणका लागि तीन अर्ब २० करोड रुपैयाँ लागत अनुमान (प्रारम्भिक) गरिएको छ ।

रोहिणी नदी–किनारमा आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठुलो क्षमताको स्टोरेज ट्यांकसमेत बनाइनेछ । यहाँ तीन हजार किलोलिटर क्षमताको तीन ठुलो भर्टिकल ट्यांकीमा कुल नौ हजार किलोलिटर क्षमताको डिजेल भण्डारणगृह बन्नेछ ।

त्यस्तै, सात सय ६० किलोलिटर अटाउने तीनवटा भर्टिकल ट्यांकीमा कुल दुई हजार दुई सय ८० किलोलिटर क्षमताको पेट्रोल भण्डारणगृह र दुई सय ५० किलोलिटर क्षमताका दुईवटा भर्टिकल ट्यांकीमा कुल पाँच सय किलोलिटरको मट्टीतेल भण्डारणगृह बन्ने निगमले जनाएको छ ।

डिपोभित्र कम्तीमा एक सय ५० वटा टैंकट्रक सजिलै आवतजावत गर्न सक्ने ठुलो क्षमताको पार्किङस्थल पनि बन्ने र अमेरिकन पेट्रोलियम इन्स्टिच्युटको मापदण्डलाई पालना गरी डिपो तयार हुने यादवले जानकारी दिए ।

धनगढी डिपोसमेत स्थानान्तरण हुने
आयल निगमले सुदूरपश्चिममा इन्धन वितरणका लागि हाल सञ्चालन गरिरहेको धनगढी डिपोसमेत स्थानान्तरणको गृहकार्य अघि बढाएको छ ।

हालको डिपो धनगढी बजारको घनाबस्तीमा रहेको र साँघुरोसमेत भएकाले स्थानान्तरणका लागि जग्गा खोज्ने कार्य अघि बढिरहेको निगमका उपनिर्देशक प्रदीप यादवले जानकारी दिए ।

उनका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित जग्गा आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेको जमिनमा डिपो स्थानान्तरणका लागि अध्ययन भइसकेको छ ।

‘सरकारी निकायको जग्गा भएकाले खरिद गर्न पनि सजिलो हुन्छ । अर्कातिर करिब २५ बिघा जग्गा डिपोका लागि उपयुक्त स्थानमा पनि देखिएको छ,’ यादवले भने, ‘सो जग्गा प्राप्ति गर्ने विषयमा अहिले कम्पनी, स्थानीय तह, प्रदेश र निगमबिच समन्वय भइरहेको छ ।’