नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका घर भएका दानबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धनगढी–४, स्थित देउवा निवासको अगाडि गत ९ भदौमा बम फेला परेको थियो । झोलामा माटोभित्र टीफिन बक्समा राखिएको उक्त बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो ।
बम राखेको अभियोगमा पक्राउ परेका धामीसँग बयान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । त्यसबेला घटनाको अनुसन्धानका लागि नेकपा बहुमतका चारजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । पूर्वप्रधानमन्त्री देउवा धनगढी आउँदा यही घरमा बस्छन् । अहिले उनका भतिजा प्रकाश देउवा बस्ने गर्छन् ।