१०–१२ असोजको बाढीपहिरो तथा डुबानबाट पुगेको क्षतिमध्येबाट निर्जीवन बिमा कम्पनीहरूमा पर्ने दाबी १२ अर्ब २६ करोड चार लाख रुपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणबाट प्राप्त १२ मंसिरसम्मको तथ्यांकले तीन हजार पाँच सय १९ वटा दाबी परेको उल्लेख गरेको छ ।
१४ ठुला र चार लघु निर्जीवन बिमा कम्पनीहरूमा आएको दाबी मात्रै हो । जीवन बिमा कम्पनीहरूमा आएको दाबीको विवरण उल्लेख गरिएको छैन । हालसम्म कम्पनीहरूले ७८ करोड ९३ लाख आठ हजार रुपैयाँ अग्रिम भुक्तानी दिएका छन् ।
एक हजार २१५ संख्यामा कम्पनीहरूले सोबराबरको दाबी दिएका हुन् । पछिल्लो विपतबाट ग्राहकलाई परेको असरलाई दृष्टिगत गर्दै अग्रिम दाबी भुक्तानी पनि दिइरहेको नेपाल बिमक संघका अध्यक्ष क्षेत्रीले बताए । अन्तिम दाबी भुक्तानी भने सर्भेयरको प्रतिवेदनका आधारमा गरिने उनको भनाइ छ ।
तथ्यांकअनुसार घर, भवन, सञ्चालित परियोजना (सम्पत्ति बिमा)बाट सबैभन्दा धेरै दाबी परेको छ । हालसम्म त्यसअन्तर्गत नौ अर्ब एक करोड ९५ लाख रुपैयाँबराबरको १७ सय १६ वटा दाबी परेका छन् ।