मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १२ बुधबार o८:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीमा नेताको कार्यविभाजनमै सकस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार o८:३६:oo

एकीकृत समाजवादीमा महाधिवेशनपछि चुलिएको विवादका कारण नेताहरूको कार्यविभाजनमै सकस परेको छ । कार्यविभाजनमा ढिलाइ हुँदा कार्यकर्तामा निराशा, आक्रोश र पलायनसम्म देखिएको छ । 

झलनाथ खनाल, सम्मानित नेता, एकीकृत समाजवादी
हामी कार्यविभाजनको कामलाई अगाडि बढाउँदै छौँ । आधाउधि काम सकिएको छ । केही काम गर्न बाँकी छ । ती काम सकिएपछि कार्यक्षेत्र विभाजन हुन्छ । पार्टीका कार्यभार अगाडि आउँछन् । त्यसपछि पार्टीमा गति आउँछ ।

महाधिवेशन प्रतिनिधि तल्लो तहबाट छानिएर आउनुपर्ने निर्णय उल्ट्याउँदै केन्द्रीय सदस्य र निकायबाट स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएपछि तल्लो कमिटीका नेताहरूमा असन्तुष्टि देखिएको थियो । महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीको आकांक्षी धेरै भएपछि अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै बाँकी सदस्य चयन गर्ने जिम्मा नवनिर्वाचित केन्द्रीय कमिटीलाई दिइएको थियो । 

२९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने विधान महाधिवेशनले पारित गरे पनि बढाएर ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषण गरिएको थियो । त्यसपछि कमिटीमा नपरेका नेताहरू असन्तुष्ट बनेका छन् । पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनले विवादलाई झन् बढाइदियो । निर्वाचनमा ‘चिर्कटो’ बाँडिएको विषयलाई लिएर नेताहरूले असन्तुष्टि जनाएका छन् । नेताहरूले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्दै आएका छन् । कतिपय नेताहरू महाधिवेशनपछि निष्क्रिय बसेका छन् । केहीले भने पार्टी नै परित्याग गरेका छन् ।

पदाधिकारी र पोलिटब्युरोमा पराजित नेताहरूले सबै कमिटी भंग गरेर अगाडि बढ्नुपर्ने माग गरेका छन् । पदाधिकारी र पोलिटब्युरो खारेज गर्दै केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाएर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड छ । एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले केही दिनमै कार्यविभाजन टुंग्याउने दाबी गरे । ‘अब कार्यविभाजन हुन्छ, त्यसपछि पार्टी रफ्तारमा अघि बढ्छ,’ उनले भने, ‘बाहिर चर्चा भएजस्तो विवाद पार्टीमा छैन । पार्टीले आफ्नो गतिविधि गरिरहेको छ ।’

कार्यविभाजनका लागि अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव भुसाल रहेको कार्यदल गठन गरिएको छ । पार्टी एकता कायम राख्न असन्तुष्ट नेताहरूलाई समेटेर कार्यविभाजन गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीका सांसदहरू किसन श्रेष्ठ, प्रेम आलेलगायत पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् ।

सम्मानित नेता खनालले कार्यविभाजनको आधाजसो काम सकिएको बताए । बाँकी काम सकिएपछि नेताहरूको कार्यविभाजन हुने र त्यसपछि पार्टीले गति लिने उनले दाबी गरे । ‘हामी कार्यविभाजनको कामलाई अगाडि बढाउँदै छौँ । आधाउधि काम सकिएको छ । केही काम गर्न बाँकी छ । ती काम सकिएपछि कार्यक्षेत्र विभाजन हुन्छ । पार्टीका कार्यभार अगाडि आउँछन् । त्यसपछि पार्टीमा गति आउँछ,’ उनले भने ।

१०औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरे पनि पदाधिकारी निर्माण गर्ने वेलामा सहमति छोड्दा समस्या आएको खनालको तर्क छ । ‘१८४७ प्रतिनिधिहरूको बिचबाट ३४४ केन्द्रीय कमिटीका सदस्यचाहिँ सहमतिमा चयन गर्न सक्ने अनि ३४४ सदस्यको बिचबाट १७ जना पदाधिकारी सहमतिका साथ चयन गर्न नसक्ने प्रवृत्तिले पार्टी केन्द्रमा एउटा ठुलो समस्या खडा गर्‍यो । त्यसले गर्दा पार्टीलाई जुन हिसाबले अगाडि बढाउनुपर्ने थियो, त्यो हिसाबले अगाडि बढाउन सकिएन । ती उत्पन्न भएका समस्या समाधानको प्रोसेसमा हामी छौँ । ती समाधान हुँदै गएका छन्,’ उनले भने । एकीकृत समाजवादीमा विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलनको माग उठे पनि त्यसको सम्भावना न्यून देखिएको एक पदाधिकारीले बताए ।