सामाजिक सुरक्षा कोषका योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत उपचार खर्च पाउने भएका छन् । सातौँ सामाजिक सुरक्षा कोष दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ‘ओली’ले कोषले उपलब्ध गराउने स्वास्थ्योपचार सेवाको दायरा विस्तार गर्ने घोषणा गरेका हुन् । यो व्यवस्था ९० दिनमा कार्यविधिमा समेटेर कार्यान्वयनमा आउने छ ।
अहिले कोषका योगदानकर्ताले अस्पतालमा भर्ना भई उपचार गर्दा एक लाखसम्मको ८० प्रतिशत खर्च कोषबाट पाउँदै आएका छन् । योगदानकर्ता अस्पताल भर्ना भएर उपचार गर्दा एक लाखको बिल आएमा कोषले ८० हजार र योगदानकर्ताले २० हजार व्यहोर्नुपर्छ । अब एक लाखभन्दा बढी १० लाखसम्म उपचार खर्च लाग्ने योगदानकर्ताको उपचारमा ५० प्रतिशत खर्च कोषबाट व्यहोरिने प्रधानमन्त्री ओलीले उद्घोष गरेका हुन् । देशभरि कोषमा आबद्ध अस्पतालको संख्या पनि ९० पुगेका छन् ।
प्रधानमन्त्री ओलीले योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्योपचार सेवा विस्तार गर्ने घोषणा गरेका छन् । हाल औपचारिक क्षेत्रका योगदानकर्ताको श्रीमान् र श्रीमतीमा सीमित रहेको स्वास्थ्योपचार सेवा अब १८ वर्षसम्मका छोराछोरीमा पनि विस्तार गरिने भएको हो । आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषको सेवाबाट लाभान्वित हुने उनको भनाइ छ । ‘संविधानमा व्यवस्था भएका मौलिक हक र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही छ,’ उनले भने, ‘देशलाई समृद्ध बढाउन सरकार क्रियाशील छ ।’
प्रधानमन्त्री ओलीले अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए । केही दिन मात्र काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा पाउने नियम लागू हुने उनले बताए ।
सात वर्षमा करिब १८ लाख सात सय ६९ श्रमिक सूचीकृत
योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । ०७५ सालमा ओली प्रधानमन्त्री हुँदा नै अभियानका रूपमा कार्यक्रम सुरु गरिएको थियो । हालसम्म कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार सात सय ६९ पुगेको छ । त्यस्तै, १७ लाख ९७ हजार ६ सय ४० श्रमिक सूचीकृत छन् । यीमध्ये १२ लाख ५३ हजार ६ सय १५ श्रमिक वैदेशिक रोजगारीमा रहेका हुन् । औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ योगदानकर्ता रहेका कोषले जनाएको छ । हालसम्म कोषमा ६८ अर्ब ६८ करोड ९० लाख रुपैयाँ योगदान भएको छ ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, वृद्ध अवस्था सुरक्षा योजना, अवकाश दाबीजस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । अहिलेसम्म ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको कोषले जनाएको छ ।
कोषले आफ्ना योगदानकर्तालाई सहुलियत ब्याजदरमा सापटी पनि दिँदै आएको छ । आव ०८१/८२ का लागि विशेष सापटीको ६.६० प्रतिशत ब्याजदर तोकिएको छ भने घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीको ७.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । यस्तै, योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा ५.५ प्रतिशत ब्याज पाउने कोषले जनाएको छ ।
योगदानकर्ता घर सापटीतर्फ नयाँ घर निर्माण गर्न, एकाघरको स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न ७५ लाखसम्म सापटी पाउने व्यवस्था छ । शैक्षिक सापटीतर्फ योगदानकर्ता वा निजको पति–पत्नी, छोरा वा छोरीले स्वदेश तथा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि ३५ लाखसम्म यस्तो सापटी लिन पाउँछन् । हालसम्म पाँच अर्ब रुपैयाँ विभिन्न शीर्षकमा कोषबाट कर्जा प्रवाह भएको छ ।
प्रधानमन्त्रीका नयाँ घोषणा
- हाल औपचारिक क्षेत्रका योगदानकर्ताको श्रीमान् र श्रीमतीमा रहेको स्वास्थ्योपचार सेवा अब योगदानकर्ताका १८ वर्षसम्मका छोराछोरीमा पनि विस्तार गरिने ।
- योगदानकर्ता अस्पतालमा भर्ना भई उपचार गर्दा हाल उपलब्ध एक लाखसम्ममा ८० प्रतिशत कोषले व्यहोर्ने व्यवस्था परिमार्जन गरेर सो सेवाभन्दा बढी १० लाखसम्मको उपचारमा ५० प्रतिशत कोषले व्यहोर्ने ।
कोषले दिने सापटीको ब्याजदर
- विशेष सापटीको ६.६० प्रतिशत
- घर सापटीको ७.५ प्रतिशत
- शैक्षिक सापटीको ७.५ प्रतिशत
- सामाजिक कार्य सापटीको ७.५ प्रतिशत