नेपाल धितोपत्र बोर्डका नवनिर्वाचित अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजारका चुनौतीलाई अवसरमा परिणत गर्ने बताएका छन् । उनले मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
शपथग्रहण कार्यक्रममा बोल्दै उनले चुनौतीको सामना गर्दै पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘नेपालको पुँजी बजारको नियामकका रूपमा लगानीकर्ताको हित तथा पुँजी बजारमार्फत नेपालको आर्थिक विकास प्रवर्द्धन गर्न डटेर लाग्नेछु । पुँजी बजारमा चुनौती धेरै छन् । चुनौतीलाई अवरमा परिणत गर्नेछु ।’
सबै आशंकालाई योग्यतापूर्वक चिर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री पौडेलले अध्यक्ष श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै बधाई दिएका छन् । उनले धितोपत्र बजारको समस्यालाई सम्बोधन गर्न गतिशील भएर लाग्न निर्देशन दिएका छन् । उनले भने, ‘लामो समयदेखि पेन्डिङमा रहेको नियुक्ति प्रक्रियाले पूर्णता पाएर अध्यक्ष नियुक्त हुनुभएको छ । सबै आशंकालाई योग्यतापूर्वक कामले चिर्नुहुन्छ भन्ने विश्वास छ ।’