च्याम्पियन बनेको हलेसी महादेवस्थानले नगद एक लाख ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेकोे ओखलढुंगाले नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा सोही नगरपालिकाको वडा नं. ७ हलेसीस्थित महादेवस्थान च्याम्पियन बनेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीस्थित बसाहाथान खेलमैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा पद्म स्पोर्टस् क्लब ओखलढुंगालाई टाइब्रेकरमा हराउँदै हलेसी महादेवस्थान च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि टाइब्रेकरमार्फत छिनोफानो गरिएको प्रतियोगितामा हलेसी महादेवस्थानले तीन गोल गर्दा ओखलढुंगाले दुई गोल मात्र गर्न सफल भएको थियो । च्याम्पियन बनेको हलेसी महादेवस्थानले नगद एक लाख ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उपविजेता बनेकोे ओखलढुंगाले नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । सेमिफाइनलिस्ट भोजपुर नगरपालिका भोजपुर र जन्तेढुंगा गाउँपालिका– ६ दिप्लुङ खोटाङले जनही नगद २२ हजार २२२ सहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजूले जानकारी दिए।
प्रतियोगिता अवधिभरकी बेस्ट प्लेयर हलेसी महादेवस्थानका खेलाडी प्रतीक्षा ठकुरीले नगद एक हजार ५५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् । यसैगरी, बेस्ट डिफेन्डर हलेसीकै कर्सा ओली, बेस्ट मिडफिल्डर ओखलढुंगाकी खुस्मा राई, हाइस्कोरर (सर्वाधिक गोलकर्ता) ओखलढुंगाकै सुप्रिया मियाँ, बेस्ट किपर (गोलरक्षक) हलेसीकी सुजता तामाङ र बेस्ट कोच (उत्कृष्ट प्रशिक्षक) हलेसीका लोकेन्द्र केसी घोषित भएका छन् ।
विधागत पुरस्कार विजेता खेलाडीले जनही एक हजार १११ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टोली र खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले पुरस्कार वितरण गरेका हुन् ।
खेलको माध्यमबाट महिलाहरूको शक्ति प्रदर्शन गर्नका लागि नगरपालिकाको आयोजनामा पहिलोपटक सर्वाधिक राशिको खुला महिला फुटबल प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख राईले बताइन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गरेका थिए ।
‘मेरो गोल, लैंगिक हिंसाविरुद्धको बोल’ नारासहित मंसिर ८ गतेदेखि सुरु प्रतियोगितामा खोटाङ, भोजपुर र ओखलढुंगाका गरी १६ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा खोटाङकै प्रथम महिला रेफ्री शशि राई, रोदिना राई र युनिसा राईसहित अन्य दुईजना पुरुष रेफ्रीमार्फत खेल सम्पन्न गराइएको नगर प्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
यसैबिच, महिला जनप्रतिनिधिका लागि आयोजित म्युजिकल चेयर प्रतियोगितामा उर्मिला विश्वकर्मा प्रथम भएकी छिन् । नगरपालिकाभित्रका १९ जना महिला जनप्रतिनिधि सहभागी प्रतियोगितामा दीक्षा राई द्वितीय र जुना राई तृतीय भएका छन् ।
म्युजिकल चेयर प्रतियोगितामा विजयी जनप्रतिनिधिलाई क्रमशः नगद तीन हजार तीन, दुई हजार दुई र एक हजार एक रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिता उद्घाटन तथा समापनमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो ।